काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहर ९फेज०विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो।
केही दिन अगाडि नै असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट ९एचडीयु० बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तीमा देशभर थप १ हजार ४०० एचडीयु बेडहरु विस्तार गर्न लागिएको जनाइएको छ। हाल देशभरका सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजी अस्पतालमा ७७८ एचडीयु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले भेन्टिलेटरहरुको संख्या ९०४ पुर्याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको छ पनि जानकारी दिएको छ।
कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपुर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरूमार्फत ५ हजार ५०० अक्सिजन कन्सट्रेटर ल्याइसकेको मन्त्रालयले जानकारी दिएको छ। थप ३ हजार ५०० अक्सिजन कन्सट्रेटर आउने क्रममा रहेको मन्त्रालयको दाबी छ।
यस्तै, ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको छ तथा १९ वटा अक्सिजन प्लाण्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न प्रवक्ता डा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
