दाङका स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

राम्रो अनलाइन     १० असार २०८२, मङ्गलबार
दाङका स्थानीय तहद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक दाङको घोराही उपमहानगरपालिकाको १७औँ नगरसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख हुमाकुमारी डिसी ।

दाङ–दाङका दश वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । घोराही र तुलसीपुर उपमहानगरसहित सबै स्थानीय तहले आज बजेट प्रस्तुत गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले रु दुई अर्ब छ करोड ६६ लाख ९३ हजारको बजेट ल्याएको छ । तुलसीपुरले कृषि, पशु, स्वास्थ्य, शिक्षा पर्यटन विकास र रोजगारलाई प्राथमिकतामा राखेको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले चालुतर्फ कूल बजेटको ६५ दशमलव शून्य आठ प्रतिशत पुँजीगततर्फ कूल बजेटको ३२ दशमलव ९० प्रतिशत वित्तीय व्यवस्थापनतर्फ दुई दशमलव शून्य दुई प्रतिशत बजेट विनियोजना गरिएको जानकारी दिइन्।

उपप्रमुख चौधरीले शिक्षा, युवा तथा खेलकुदतर्फ रु ६० करोड २८ लाख, कृषितर्फ रु एक करोड ४५ लाख, पशुपन्क्षी विकासतर्फ रु एक करोड १५ लाख, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको लगत सङ्कलन, लालपुर्जा वितरणका लागि रु एक करोड बजेट विनियोजन गरेकी छिन्। त्यस्तै विपद् व्यवस्थापनतर्फ रु एक करोड, सरसफाइ तथा फोहरमैला व्यवस्थापनतर्फ रु ७६ लाख, पालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेज तथा बहुप्राविधिक शिक्षालयका लागि रु एक करोड विनियोजन गरिएको उनले बताइन्।

घोराही उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको छ । उपप्रमुख हुमाकुमारी डिसीले रु दुई अर्ब २९ करोड २७ लाखको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार चालुतर्फ ५६ दशमलव १६ प्रतिशत र पुँजीगततर्फ ४३ दशमलव ८४ प्रतिशत बजेट विनियोजना गरिएको छ ।

लमही नगरपालिकाले रु ८८ करोड ३१ लाख सात हजार ९२९ को बजेट विनियोजन गरेको छ । सङ्घीय अनुदानतर्फ रु ५९ करोड २१ लाख ६५ हजार ९२९ र प्रदेश सरकारको रु १४ करोड ८० लाख ९७ हजार रहेको उपप्रमुख लक्ष्मी योगीले जानकारी दिइन्। नगरको आन्तरिकतर्फ रु १९ करोड ६२ लाख ५५ हजार र अन्य शीर्षकबाट रु तीन करोड ५० लाख स्रोत सङ्कलन गरिने छ ।

राप्ती गाउँपालिकाले कूल रु ६३ करोड ६१ लाख ३१ हजार ५२४ बराबरको बजेट ल्याएको हो । आज पालिकाका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी छिन्। ‘समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी’ भन्ने मूल नाराका साथ आगामी आवको बजेट विनियोजन गरिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई जोड दिइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमा वित्तीय हस्तान्तरणबाट प्राप्त हुने अनुदान रु ४२ करोड ९३ लाख ७५ हजार र राजस्वतर्फ रु २० करोड ६७ लाख ५६ हजार ५२४ अनुमान गरिएको छ । जसमा सङ्घीय अनुदानतर्फ रु ३९ करोड ९१ लाख र प्रदेश अनुदानतर्फ रु तीन करोड दुई लाख ७५ हजार अनुमान गरिएको छ । 

त्यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट प्राप्त हुने आयतर्फ रु १३ करोड तीन लाख ७८ हजार ५२४ र प्रदेश राजश्व बाँडफाँटबाट रु एक करोड १३ लाख ७८ हजार, स्थानीय राजस्व बाँडफाँटबाट रु तीन करोड र आन्तरिक आयबाट रु तीन करोड ५० लाख आय अनुमान गरिएको छ ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले आज रु ७८ करोड ७५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । बबई गाउँपालिकाले रु ५० करोड ५१ लाख, राजपुर गाउँपालिकाले रु ६० करोड २४ लाख ६५ हजार, बङ्गलाचुली गाउँपालिकाले रु ६२ करोड ६६ लाख, शान्तिनगर गाउँपालिकाले रु ४८ करोड ९७ लाख, दङ्गीशरण गाउँपालिकाले रु ४५ करोड ११ लाख ४१ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । दाङका दुई उपमहानगरसँगै लमही नगरपालिका र सात वटा गाउँपालिकाले आज बजेट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया