चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

राम्रो अनलाइन     २४ असार २०८१, सोमबार

 

काठमाडाैं – शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो । सन् २००१ देखि म्युजिक भिडियो र वृत्तचित्र सम्पादन एवम् निर्देशन गर्दै आएका निर्देशक कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ रहनुभएको उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा रहेकाे छ । 

निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए । 'सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रशङ्गलाई चर्चा गरिएको छ', उनले भने । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीले गरेका हुन् । राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ भने सङ्गीत निर्मातामा रिकेश गुरुङ रहेका छन् । 

किरण थापाले कोरियोग्राफी गर्नुभएको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठको कलात्मक अभिनय हेर्न सकिन्छ । गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन् । अभिनेता श्रेष्ठको अभिनयमा यो पहिलो अनुभव हो । 'कलासहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनीमार्फत सुरु गरेको छु', अमरले भने, आमदर्शकको चाहना अनुसारको अनिनयसहित कथा प्रस्तुत गरेका छौँ ।' अभिनेत्री शिवाकोटीले चलचित्र हेरिरहँदा आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै चलचित्रबाट आफूले निकै आशा बोकेको बताए । 

'चलचित्रमा नयाँ साथीहरुले प्रस्तुति दिनुभएकाले पनि यसको कथा सशक्त बनेको छ', उनले भने, 'चलचित्र हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो लाग्छ ।' अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए । 

कार्यक्रममा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्यलगायत कलाकारको उपस्थिति थियो । चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतले अभिनय गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया