चितवनमा यस आवमा चार भन्दा अर्ब बढी राजस्व सङ्कलन

राम्रो अनलाइन     ०१ साउन २०८२, बिहिबार
चितवनमा यस आवमा चार भन्दा अर्ब बढी राजस्व सङ्कलन

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व सङ्कलन भएकामा गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको हो ।
 
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै सङ्कलन भएको थियो । आव २०७९र८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व सङ्कलनमा जोड दिएको जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर करसङ्कलन अभियानलाई तीव्रता दिइएको बताए । कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाई राजस्व तिर्न प्रोत्साहन गरेको थियो । उद्योग वाणिज्यसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उनको भनाइ छ ।

कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१र८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिए । सूचना अधिकारी पौडेलले निरन्तर मिहिनेत गरेकाले राजस्व बढाउन सकिएको बताउँदै लक्ष्यमा पुग्न अझै नसकिएको उल्लेख गरे । 

प्रतिक्रिया