चीनले गर्‍यो ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द

राम्रो अनलाइन     २४ चैत २०८२, मङ्गलबार
चीनले गर्‍यो ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द

काठमाडौं – विश्वको ध्यान पश्चिम एसिया द्वन्द्वमा केन्द्रित भइरहेका बेला चीन आफ्नो ‘एक चीन नीति’लाई कार्यान्वयन गर्ने मौकामा देखिएको छ । यसनिम्ति चीनले ताइवान टापुनजिकैको हवाई क्षेत्र ४० दिनलाई बन्द गर्ने कदम चालेको छ ।

ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्ने चीनले यसअघि पनि यो क्षेत्रमा आफ्ना लडाकु विमान र युद्धपोत पठाउँदै आएको थियो । हाल उसले मे ६ तारिखसम्मलाई यो विशाल हवाई क्षेत्र बन्द गरेको छ ।

अमेरिकाको वाल स्ट्रिट जर्नलका अनुसार, चीनले कुनै स्पष्टीकरण नदिई आफ्नो क्षेत्र ४० दिनलाई बन्द गर्ने सूचना जारी गरेको छ । यो हवाई क्षेत्र दक्षिण कोरियानजिकैको एलो सागरदेखि जापान आसपासको पूर्वी चीन सागरसम्म फैलिएको छ ।

अमेरिका हाल इरानसँगको विवादमा अल्झिएको छ । यो क्षेत्रबाट अमेरिकी सैन्य सामग्री पनि पश्चिम एसियातर्फ लगिएको समयमा चीनले यस्तो कदम चालेको हो ।

सैन्य अभ्यासका निम्ति यसअघि यस्तो हवाई क्षेत्र केही दिनलाई मात्र बन्द गरिन्थ्यो । यति लामो समयसम्म हवाई क्षेत्र बन्द गर्नुको कारण चिनियाँ विदेश मन्त्रालयले खुलाएको छैन । यसले चीनले वर्तमान परिस्थितिको फाइदा उठाउँदै ताइवानमाथि आक्रामक कदम चाल्न सक्ने र ठूलो षड्यन्त्र गरिरहेको आशंका उब्जाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान आफ्नो क्षेत्रीय जलक्षेत्र वरपर तीन चिनियाँ सैन्य विमान, ६ नौसैनिक जहाज र दुई सरकारी जहाजको उपस्थिति पत्ता लगाएको छ । तिनीहरू मध्यरेखा पार गरी ताइवानको उत्तरी र पूर्वी भागको रक्षा सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

ताइवानी सशस्त्र बलले स्थितिमाथि निगरानी राख्दै जवाफी कारबाहीको तयारी गरेको छ । आइतबार पनि ताइवानले ६ चिनियाँ सैन्य जहाज र एउटा सरकारी जहाजको उपस्थिति फेला पारेको थियो ।

चीनले आरक्षित गरेको यो भूभाग ताइवानको मुख्य टापुभन्दा पनि ठूलो क्षेत्रमा फैलिएको छ । यसमा सांघाईको उत्तर र दक्षिणमा रहेका तटीय हवाई क्षेत्र पनि समावेश छन् ।

प्रतिक्रिया