बस दुर्घटनामा मृत्यु भएकाहरूको शव भारत लगियो 

राम्रो अनलाइन     ०८ भदौ २०८१, शनिबार
बस दुर्घटनामा मृत्यु भएकाहरूको शव भारत लगियो 


चितवन– तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकिएपछि भारतीय एयरफोर्सको जहाजबाट आज बेलुका साँढे पाँच बजेतिर भरतपुर विमानस्थलबाट भारत लगिएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थल मार्गबाट गोरखपुरतर्फ लगिएको छ ।

मृतकहरूको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन् । उनी पनि सोही जहाज चढेर गएकी छिन्।

मृतक यात्रुका शव शुक्रबार राती नै आबुखैरेनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा पशुपतिनाथमा दर्शनका लागि हिँडेका २७ पर्यटकको मृत्यु भएको थियो । मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष र एक जना चार वर्षकी बालिका रहेकी छन् । घाइते हुनेहरूमा ६ जना पुरुष र १० जना महिला रहेका छन् ।

प्रहरीका अनुसार बसमा सवार ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते हुनेमा भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका बासिन्दा हुन ।

शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।

प्रतिक्रिया