काठमाडाैं – नेकपा एमालेमा केपी शर्मा ओली र माधव नेपालबीचको गुटगत संघर्षले पार्टी विभाजनसम्मको रुपमा लियो । त्यसअघि वामदेव गौतमले पनि पार्टी फुटाएकै हुन् । वामदेवले फुटाउँदा उनीसँग राजनीतिक एजेन्डा थियो । तर पछिल्लो विभाजन ओली र नेपालको जुँगाको लडाइँबाहेक केही थिएन ।
ओलीको अहंकारवादी र एकाधिकारवादी शैलीको विरोध गर्नेमध्ये केही नेता माधव नेपालको विभाजनकारी बाटोमा लागेनन् । उनीहरु एमालेमै रहे । उनीहरु एमालेमै रहेको ओलीलाई मन परेको थिएन । पार्टीभित्र अल्पमतमा रहेका ती नेताहरुलाई पनि ओलीले पालैपालो सिध्याउनतिर लागे । त्यसैको एउटा उपक्रममा भीम रावलमाथि कारबाही गरिएको छ ।
भीम रावलसँगै विन्दा पाण्डे, उषाकिरण तिम्सिना पनि कारबाहीमा परेका छन् । यी तीनै नेता एमालेमा तुलनात्मकरुपमा अध्ययनशील मानिन्छन् । रावल र पाण्डे त विद्यावारिधि नै गरिसकेका हुन् । तिम्सिना पनि युवा एमालेहरुमा बौद्धिक छवि भएकी नेतृ हुन् । बौद्धिक व्यक्तिले आफ्नो विवेकलाई बन्धक राख्न चाहँदैन । उसले तर्कवितर्क गर्छ । फरक दृष्टिकोण राख्छ । आम बुझाइभन्दा भिन्नरुपमा प्रस्तुत हुने कोसिस गर्छ । यसैलाई रचनात्मकता पनि भन्ने गरिन्छ । ८ कक्षामै अलमलिएको व्यक्तिलाई यो जानकारी नहुन पनि सक्छ । अध्ययन र जानकारी भएको व्यक्तिले नेतृत्वसँग आँखा जुधाउन सक्छ । उसले शिर ठाडो पारेर बोल्न सक्छ । उसले सहीलाई सही र गलतलाई गलत भन्न सक्छ । त्यसैले ऊ कसैको गुलामी नगर्न सक्छ । कसैको ताबेदारीमा रमाउनेमा ऊ नपर्न सक्छ । स्पष्ट छ, ओलीलाई तर्क मन पर्दैन । ओलीलाई प्रश्न पनि मन पर्दैन । आलोचना र विरोध त झन् मन पर्ने कुरै भएन । त्यसैले उनी छानीछानी प्रश्न र तर्कमाथि तरबार चलाउँदै छन् । छानीछानी आलोचकहरुमाथि दमनचक्र चलाउँदै छन् ।
ओलीले आफ्ना समर्थक भेला पारेर दुई–चारवटा उखानटुक्का र दुईचारवटा आत्मश्लाघायुक्त कथा भन्न पाए पुग्छ। उनलाई चाहिन्छ त केवल हस् भन्ने चाटुकारहरु । उनको महिमामण्डन गर्ने मण्डली भए पुग्छ अब पार्टीमा । शंकर पोखरेलदेखि प्रदीप ज्ञवालीहरु पनि यही बाटोमा छन् । उनीहरु आफूभन्दा माथि असाध्यै चाकडी बजाउने र देवत्वकरणसम्म गर्न तयार हुने, आफूभन्दा तलकालाई पैताला चाट्न लगाउने सामन्ती संस्कारको असली अनुयायी बन्न पुगेका छन् । र, एमालेलाई यही रोगले भित्रभित्रै खोक्रो बनाउँदै छ ।
ओलीले काठमाडौँ–१६ को पराजयबाट चेतेका छैनन् । विगतमा जितेका सिटहरु गुमेकामा पनि चिन्ता छैन । कीर्तिपुरमा एक विवादास्पद व्यापारीको दानमा केन्द्रीय कार्यालय बनाउन खोज्दा त्यहीँका जनताले गएको स्थानीय तहको उपनिर्वाचनमा लोप्पा खुवाइदिइसके । तर, ओलीलाई म नै राज्य हुँ भन्ने लुई चौधौँको नयाँ अवतार हुँ भन्ने भ्रमले छाडेको छैन । रवि लामिछानेका काण्डमाथि काण्ड बाहिर आउँदा पनि जनताले पत्याउन सकिरहेका छैनन् । ओलीहरु नै खराब हुन् भन्दै हिँडेका छन् जनता । बालेन र हर्क साम्पाङतिर जनसागर उर्लिरहँदा पनि ओलीलाई चिन्ता छैन । दुर्गा प्रसाईँका छाडा अभिव्यक्ति नै ठिक भन्दै ओलीको सत्तोसराप गर्ने जनता बढ्दै गएकामा पनि एमालेको नेतृत्व पंक्तिलाई कुनै ताप छैन । छ त केवल आफू यस धर्तीमा हुनुको घमण्ड छ । अहंकारको भूतमा सवार एमाले नेतृत्वले बाँकी सबैलाई भुसुना देखिरहेको छ । कर तिर्ने जनतालाई अपमान र घृणाबाहेक केही दिन नसक्ने यस खालको नेतृत्वले अनिष्टबाहेक देशलाई के नै दिन सक्छ र ?