सुलीकोट– गोरखाको शहिद लखन गाउँपालिका– ८ छापथोक मोचाबारीका युवा गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् ।
गाउँका केही युवाले सन्तानेश्वर कृषि सहकारी मार्फत व्यक्तिको १५ रोपनी जग्गा लिजमा लिएर १० वर्षको लागि बाझिएको खेतबारीमा व्यवसायिक घाँस उत्पादन गर्दै भैंसी पालेका हुन् । व्यवसायिक रुपमै भैंसीको दूध बेचेर उनीहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।
विगत दुई वर्षदेखि युवाले भैँसीको दूध बेचेर मासिक दुई लाख रुपियाँसम्म आम्दानी गर्न थालेका हुन् । शहिद लखन गाउँपालिका– ८ छापथोक मोचाबारीको क्षेत्रमा उत्पादित दूध स्थानीय बजार तथा नजिकै रहेको गोरखा सदरमुकामसम्म खपत हुने गरेको भैंसी पालनमा आबद्ध युवा उद्यमी अमृत बाबु श्रेष्ठले जानकारी दिए ।
‘१३ वटा भैंसीबाट सुरु गरेर अहिले १८ वटा दुहुनो भैंसी पुर्याएको छौं’, उनले भने, ‘गरे गाउँमा पनि मासिक दुई लाख रुपियाँ कमाउन बाहिर धेरै खर्च गरी जोखिम मोल्नु भन्दा आफनै परिवारमा बसी परिश्रम गर्ने हो ।
अहिले भैँसी पालनबाट तीन जना युवालाई मासिक १८ हजार दरले ५४ हजार दिएर अरु बाँकी सन्तानश्वेर कृषि सहकारी संस्थालाई राम्रो मुनाफा भएको छ ।
बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म भैँसीको पाडा पाडीको स्याहार सुसार तथा घाँस कुडोको व्यावस्थापनमा दैनिक धेरै समय गोठमा नै युवा रहेका हुन्छन् । युवाले छोटो समयमा व्यवसायिक भैँसी पालन गरेर सफल युवा उद्यमीको रुपमा चिनिन सफल भएका छन् ।
अहिले १३ वटा दुहुनो भैँसीबाट दैनिक ११० लिटर बिहान र बेलुका १०० लिटर सम्म दुध बिक्री वितरण हुन्छ । गोरखामा दूधको मूल्य ८० देखी ९० रुपैयाँसम्म १ माना बेच्ने गरिएको छ । अहिले त्यस फार्ममा करिब २५ लाखसम्म लगानी भइसकेको छ ।