आफूहरूले पाउँदै गरेको जर्ता सुविधा निगमले कटौती गर्न खोजेको भन्दै बागमती प्रदेशभरका पेट्रोल बिक्रेताहरूले आइतबारदेखि पेट्रोल बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।
बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ ।
१२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ ।
एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको बताए । आफूहरुले व्यहोर्दै आएको नोक्सानीबापत तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काले बताए ।
नेपाल आयल निगमले भने जर्ती सुविधा नदिनेबारे निर्णय नभइसकेको तर यसको औचित्यबारे अध्ययन थालेको जनाएको छ ।
व्यवसायीले बिक्री बन्द गरेका कानूनबमोजिम कारबाही हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले चेतावनी दिएका छन् ।
नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटका अनुसार प्रदेशभित्र १५० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् । बागमती प्रदेशमा दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको निगमले जनाएको छ ।