अवैध रुपमा विदेश पुगेका नेपालीहरुको अध्ययन भइरहेको छः परराष्ट्रमन्त्री राणा

राम्रो अनलाइन     ३० जेठ २०८२, शुक्रबार
अवैध रुपमा विदेश पुगेका नेपालीहरुको अध्ययन भइरहेको छः परराष्ट्रमन्त्री राणा

 

काठमाडाैं– परराष्ट्रमन्त्री डा आरजु राणाले अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा अध्ययन भइरहेको जानकारी दिएकी छिन् । 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका र अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिएकी हुन् । 

उनले बैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्ने गरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धिन निकायका सदस्यहरू रहको एक समिति गठन भएको पनि बताइन् । 

उनले नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा समेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको बताइन् ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका मोडालिटीहरुमा पनि परिवर्तन हुने अवस्था देखिएकाले कूटनीतिक पहलहरुमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् । 

उनले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरु तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताइन् ।  मन्त्री  राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो एजेण्डालाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको समेत दावी गरिन् ।

प्रतिक्रिया