पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधारमा गण्डकी प्रदेशमा अघिल्लो वर्षको दायित्व १० अर्ब रहेको बताएका छन्। संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको धेरै बजेट भएको पूर्वाधार क्षेत्रमा अघिल्लो वर्षको दायित्व १० अर्ब बढी रहेको बताएका हुन्।
मुख्यमन्त्री पाण्डेले आउँदो वर्षका लागि करिब २ अर्ब ५० लाख मात्र विनियोजन भएको बताए। आम जनता र सांसदहरूको भौतिक पूर्वाधार निर्माण गर्न बढी बजेट माग गर्नु भएको उनको भनाई थियो । मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा आउने विषय बस्तु र समाचारको विषयमा राम्रोसँग बुझाउन नसक्दा सञ्चार क्षेत्रमा चुनौती थपिएको समेत बताए । अघिल्लो बर्ष सामाजिक भवन तथा महिलाहरूको सामुदायिक भवनमा बजेट कटौती गरे पनि यस बर्ष जनदबाब बढेकोले केही बजेट विनियोजन गरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
प्रदेशमा मिडिया काउन्सिल विधेयक पारित भएकोले अब प्रेस रजिस्ट्रार छिट्टै नियुक्त गर्ने उनले बताए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले निर्वाचन प्रणालीमा गम्भीर ढंगले सोच्नु पर्ने बताए। संसदीय मूल्य मान्यतामा रहँदै मर्यादामा रहन उनले आग्रह समेत गरे। प्रदेशका पूर्वमन्त्री सुशीला सिंखडाले पत्रकारिता व्यावसायिक बनाउन सुझाव दिँदै व्यापारिक नबनाउन आग्रह गरे।