काठमाडौँ–मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा विदेशस्थित नेपाली नियोग तथा निजी क्षेत्रबीच सहकार्यमा जोड हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य’ विषयक छलफल कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
छलफल कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न मुलुकका लागि नेपालका तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो । नेपालको विकास र समृद्धिका लागि आन्तरिक लगानी र पूँजीसँगै बाह्य लगानी पनि आवश्यक पर्ने भएकाले विदेशस्थित नेपाली नियोग र निजी क्षेत्रले समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्वमुख्यसचिव शङ्करदास वैरागीले नेपाली नियोगहरूले आप्mनो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी र निर्यात प्रवर्द्धनको नेपालको लक्ष्य पूरा हुने उनको भनाइ छ ।
मुख्यसचिव वैकुण्ठ अर्यालले आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार सङ्गठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए । यसैगरी अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भनिनुपर्ने सुझाव दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए।
पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । सङ्घीय मामिला सचिव विनोद सिंहले विदेशस्थित नेपाली नियोग र राजदूतहरूले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरूको उपस्थिति रहेको कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशस्थित नेपाली नियोगहरूले सकारात्मकमात्र भएमा पनि निकै सहज हुने अनुभव सुनाए । ‘नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ । धेरै उदीयमान र विकसित अर्थतन्त्र भएका मुलुकमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवर्द्धनका आधारमा राजदूतहरूको मूल्याङ्कन हुने गरेको छ । यसका लागि महासङ्घ निरन्तर सहकार्य गर्न तयार रहेको छ’, उनले भने।
नवनियुक्त राजदूतहरूका तर्पmबाट बोल्दै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने बताए।
महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासङ्घ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए।
सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर वली, युएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्विट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र सङ्घ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।