काठमाडौँ–सरकारले घोषणा गरेको आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखती र महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले सीपमूलक तालिम, उद्यमशीलता, प्रशिक्षक प्रशिक्षण तालिम र रोजगारी प्रदान गर्नेसम्बन्धी सो समझदारी पत्रमा हस्ताक्षर गरे।
सो अवसरमा श्रममन्त्री शरत्सिंह भण्डारीले आन्तरिक रोजगारी प्रवद्र्धन दशकलाई सफल बनाउन निजी क्षेत्रसँग समझदारी गरिएको बताए। कार्यकारी निर्देशक बखतीले समझदारीसँगै परम्परागत सीपलाई उद्यमशीलतासँग जोड्ने तथा स्थानीय उत्पादनको प्रवद्र्धन एवं आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।
महासङ्घका अध्यक्ष शाक्यले हस्तकला व्यवसायको पुस्तान्तरण र दीगोपनाका लागि सम्झौता गरिएको बताए । सीप विकास प्रतिष्ठानसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै उहाँले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रियकरण गर्न सकिएमा छिट्टै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
श्रम मन्त्री भण्डारीको समुपस्थितिमा भएको सो समारोहमा मन्त्रालयका वरिष्ठ अधिकारीहरु तथा महासङ्घका पदाधिकारीलगायत सहभागी थिए।