आन्दोलनकारीको मृत्युपछि सर्लाहीमा प्रशासनले जारी गर्यो कर्फ्यु

राम्रो अनलाइन     २० पुस २०८०, शुक्रबार
आन्दोलनकारीको मृत्युपछि सर्लाहीमा प्रशासनले जारी गर्यो कर्फ्यु

सर्लाही– सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर कर्फ्यु जारी गरेको बताएको छ  । प्रशासनका अनुसार बरहथवा नगरक्षेत्रभित्र भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रशासनले भनेको छ   – ‘बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०९।२० गते बेलुका ५ः३० बजे देखी भोली मिति २०८०।०९।२१ गते बिहान ८ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।’

 बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।

प्रतिक्रिया