काठमाडौँ– दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ । महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ ।
बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरमा परेकालाई सहुलियत दिनुपर्ने, हिन्दू राज्य कायम हुनुपर्नेलगायत एजेण्डा बोकेको अभियानले वार्षिकोत्सवको छेको पारेर मंगलबार प्रदर्शन गर्न लागेको हो ।
अभियानले राजधानीका विभिन्न ७ ठाउँबाट र्याली निस्कने र त्यो भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने जनाएको छ ।प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् । भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रसाईँको कार्यक्रममा करिब ५ हजार मानिस सहभागी हुने सुरक्षा निकायको आकंलन गरिएको छ । कार्यक्रम स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सुरक्षा मिटिङमा प्रसाईँको कार्यक्रममा ‘घुसपैठ’ हुनसक्ने विश्लेषण गरिएको छ ।