शनिबारदेखि नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 

राम्रो अनलाइन     २१ मंसिर २०८०, बिहिबार
शनिबारदेखि नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 


काठमाडौँ–११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ । ‘सामूहिक अधिकार’ नारासहित सुरु हुने महोत्सव मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने भएको हो ।

महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ देखाउँदै महोत्सव प्रारम्भ गरिनेछ ।

आवेदनबाट छानिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म महोत्सवमा देखाइनेछ । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइनेछ ।

बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई महोत्सवका निर्णायक हुन् । निर्णायकबाट छनोट उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार दिइने बताइएको छ । त्यस्तै एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

फिल्म प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकार ः अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुई प्यानल छलफल राखिएका छन् ।

मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ । बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ सँगै महोत्सवको समापन गरिनेछ । महोत्सव निर्देशक पाण्डव खत्री महोत्सवले नेपाली फिल्म र फिल्मकर्मीलाई ुएक्सपोजरुको अवसरमात्रै नभइ मानव अधिकारको विषयलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउँछन् ।

प्रतिक्रिया