जसले लगानी गर्न सक्छ, उसैले पैसा कमाउन सक्ने हो । बिनालगानी पैसा कमाउन सकिँदैन । जागिर खानेहरूको तलब निश्चित हुने, जोखिम पनि कम हुने भएकाले उनीहरूले आम्दानी चाहेर पनि वृद्धि गर्न सक्दैनन् । लक्ष्मी आर्जनका लागि व्यवसाय सञ्चालन गर्न सक्नुपर्यो । व्यवसायका लागि सुव्यवस्थित योजना हुनुपर्यो । आफूले गर्न लागेको कामबारे विस्तृत अध्ययन हुनुपर्यो । कुनै कारखाना खोल्ने योजना बनाइयो भने त्यसबारे संसारमा भइरहेका पछिल्ला विकासमा ‘अपडेटेड’ हुनुपर्छ ।
संसारमा सबैभन्दा बढी ‘सक्सेस रेट’ हुने ‘प्रोफेसन’ भनेको व्यवसाय हो । खेलकुदमा रुचि राख्ने कति जनाले राष्ट्रिय टिममा स्थान पाउँछन् ? पाएका कतिले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ? राजनीतिमा लाग्ने कति जना उपल्लो तहमा पुग्न सफल हुन्छन् ? यी र यस्ता थुप्रै क्षेत्र छन्, जसमा सफलता दर एकदमै कम हुन्छ । तर, बिजनेस गर्ने व्यक्ति थोरै मात्र असफल हुन्छन् । त्यसैले यो सबैभन्दा धेरै सफलता पाइने क्षेत्र हो । राम्रो लेख्न सक्ने लेखक, राम्रो अभिनय गर्ने कलाकारले उसको जस्तै काम गर्न सक्ने अर्को मानिस पाउन सक्दैन । तर, उद्योगी–व्यपारीले लगानी जुटाएपछि अन्य बौद्धिक काम गर्नका लागि एकसे एक प्रतिभावान् मानिसहरूको सहयोग लिन सक्छ । त्यसैले पनि उद्योगी वा व्यवसायी सफल हुन्छन् ।