मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

राम्रो अनलाइन     २३ असोज २०८०, मङ्गलबार
मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व


काठमाडौँ–कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका हुन् । 

चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेको हुन्। चलचित्र महोत्सवमा ‘साउथ एसिया प्रिमियर’ हुनेछ । उनले भने, ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई दर्शाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

यस्तै सोही महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने ‘साउथ एसिया कम्पिटिसन’अन्तर्गतको प्रतिस्पर्धामा रहेको छ । यसैगरी दिवा शाहले निर्देशन गरेको नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

सौरभ राईले निर्देशन  गरेको चलचित्र ‘गुराँस’ मा हराएको कुकुरको खोजीमा निस्किएकी दस वर्षीया बालिकाको आँखाबाट खसेको आँसुको कथा प्रस्तुत गरिएको छ । निर्देशक राईकै लेखनमा तयार भएको चलचित्रमा तुलसी खवासले ‘गुराँस’ मा शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछाने पिताको भूमिकामा हुन्। 

यस्तै छोटो चलचित्रको विधामा विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा रहेको छ । उल्लिखित तीनै छोटा चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) हुनेछ । 

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथा छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान समेत गर्दै आएकोे छ । 
 

प्रतिक्रिया