नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी 

राम्रो अनलाइन     १८ असोज २०८०, बिहिबार
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी 


काठमाडौं–नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबार पहाडी प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको नियुक्तपत्रमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक रहेका सुनिल पौडेल निलम्बनमा परेका छन् । अब अदालतबाट फैसला नआइन्जेल टेलिकमको नेतृत्व पहाडीले गर्नेछिन् ।

पहाडी टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायव प्रबन्ध निर्देशक) थिइन् । भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ १टेक्नोलोजीबाट एमई गरेकी छिन् । तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१मा स्थायी नियुक्ति लिएकी थिइन् ।

१८ माघ २०७८ मा नायव प्रबन्ध निर्देशक भएकी उनी दुई पटक कम्पनीको प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी थिइन् । यसअघि सुनिल पौडेल प्रबन्धक निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो । उनीसँगै एकै दिनमा १० जना नायव प्रबन्ध निर्देशकमा बढुवा भएका थिए ।

प्रतिक्रिया