काठमाडौं–अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर उनले यो फिल्म निर्देशन गर्न लागेका हुन् । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विमलेशले आफ्नो निर्देशनमा निर्माण हुने फिल्मको शीर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका हुन् । फिल्ममा उनी स्वयंको समेत शीर्ष भूमिका रहनेछ ।
अर्को वर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने फिल्मको रिलिज समेत सोही वर्ष गरिनेछ । फिल्ममा अन्य केही कलाकारहरू अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।
मंगलवार नै फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् ।
विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने फिल्मले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्नेछ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउने प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।
अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस् भन्ने कुरामा आफूहरू सजग रहेको उल्लेख गरिन् ।
यता अभिनेत्री रीमा विश्वकर्माले पनि फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठ्यारो पाटोलाई कुनै न कुनै रुपमा अगाडि बढाउन सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडि बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई फिल्मले नजिकबाट देखाउने दाबी गरिन् । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मलाई नवराज उप्रेतीले छायांकन गर्नेछन् ।
कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेक फेल’, ‘मेरो बेष्ट फ्रेण्ड’, ‘को हुँ म रु’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।