काठमाडौँ– ‘जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,’ शालीन, सरल र स्पष्ट स्वभावकी धनी सीता दाहालले झन्डै दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान दिल्लीमा ‘पार्टी अध्यक्षकै श्रीमती हुनुहुन्छ, सँगै जनयुद्ध लड्नुभयो, अब त तपाईंलाई पनि मन्त्री बन्न मन होला नि ?’ भन्ने प्रश्नमा यही जवाफ दिइन् ।
राजनीतिक चेतनाले ओतप्रोत, सादगी नेतृ दाहालले दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाली समुदायसँगको भेटघाटमा आफूलाई ‘राजनीतिका कुरा’ नसोध्न आग्रह गरेकी थिइन् । तर राजनीतिक सङ्कटका कठिन घडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकी जीवनसङ्गिनी सीताले ‘निर्णायक हस्तक्षेप’ गर्थिन् । उनी पार्टीभित्र ‘कमरेड शिला’ नामबाट परिचित थिइन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ दाहालले खुसी व्यक्त गर्दै वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताएकी थिइन्।
उनी माओवादीमै रहँदा अध्यक्ष प्रचण्ड र तत्कालीन वरिष्ठ नेता डा। बाबुराम भट्टराईदेखि अन्य नेतालाई पनि सन्तुलित र सुमधुर सम्बन्ध बनाउन अभिभावकीय भूमिकामा रहिन् ।
पूर्वसभामुख एवं माओवादी केन्द्रका नेतृ ओनसरी घर्तीमगरले पार्टी अनेक सङ्कटसँग जुध्न अध्यक्ष प्रचण्डलाई साथ दिने र जुनसुकै परिस्थिति सामना गर्न सक्ने ताकत भएकैले उहाँ वास्तविक नेतृत्व र श्रद्धाको केन्द्र बन्नुभएको बताइन्।
उनले भनिन्, ‘सीता दाहाललाई हामी आमा भनेर सम्बोधन गर्छौं, उहाँको अभिभावकीय भूमिका, सङ्कटका बेला उहाँले गर्ने प्रभावकारी हस्तक्षेप र समन्वयकर्ताको भूमिका अनुकरणीय भएकैले उहाँप्रति अगाध श्रद्धा व्यक्त भएको हो ।’
उनी आफ्नो जीवनकालभरि प्रधानमन्त्री प्रचण्डको सारथि बनिन् । २०५२ सालदेखि नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धमा उनी पार्टीमै खटिइन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गर्दै गर्दा नेतृ दाहाल बोल्न सक्ने अवस्थामा थिइनन् । तर यसअघिका दुई कार्यकाल प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउन र पार्टीका नेताहरूलाई जनताका पक्षमा काम गर्न निरन्तर प्रेरित गरिरहिन्।
प्रचण्डनिवास पुग्दा नेतृ दाहाल कार्यकर्ताबाट घेरिएकै भेटिन्थिन् । उनले सधैँ नेता–कार्यकर्तालाई क्षमताअनुसार ठाउँ दिन प्रधानमन्त्री प्रचण्डलाई सचेत गराइरहन्थिन्।