भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड सात लाख भन्दा बढीले लगाए 

एजेन्सी     ०८ फागुन २०७७, शनिबार
भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड सात लाख भन्दा बढीले लगाए 

नयाँदिल्ली, ८ फागुन (सिन्ह्वा) : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड सात लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड ९ लाख ७७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ९९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ७७ हजार ३८७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार २१२ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ७८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४३ हजार १२७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट  एक व्यक्तिको मृत्यु भएको छ । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड २ लाख ६१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र सात लाख ८६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।
 

प्रतिक्रिया