काठमाडौँ– नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट सातौँ नगर सभाबाट पारित गरेको छ । सङ्घ र प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर नगरपालिकाले आगामी आवका लागि उक्त बजेट नगर सभामा प्रस्तुत गरी पारित गरेको हो ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आवका लागि चालु आवको असार १० गतेभित्र बजेट सभामा पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।
आगामी आवमा नगरपालिका क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नका लागि कार्ययोजना तयार गरी लागू गर्ने नीति नगरपालिकाले बनाएको छ ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले प्लास्टिकमुक्त नगरपालिका बनाउन स्थानीय उद्यमीबाट उत्पादित कपडाको झोला प्रवर्धन गर्न अभियान सञ्चालन गर्ने नीति बनाएको बताए। प्लास्टिकबाट वातावरण प्रदूषण भएकाले वातावरण प्रदूषण रोक्न लागि नगरपालिकाले प्लास्टिकको झोलामुक्त नगरपालिका बनाउन लागेको हो ।
नगरपालिकाभित्रका विपन्न परिवारका मेधावी विद्यार्थीलाई उच्च प्राविधिक शिक्षा विषयमा अध्ययनको अवसर दिन वार्षिक कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्ने, नगरपालिकाको कार्यालय र वडा कार्यालयमा हेल्प डेक्स राखी सेवाग्राहीलाई एकीकृत सेवा प्रवाहको व्यवस्था गर्ने नीति नगरपालिकाको छ ।