पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत

राम्रो अनलाइन     ३० चैत २०७९, बिहिबार
पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत


काठमाडौँ– लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो ।

लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता (पीडीए) गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ ।

बोर्डको आजको बैठकले एक सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि रु ३३ अर्ब १९ करोड र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ ९जलेश्वर० जलविद्युत् परियोजनाका लागि रु २० अर्ब ३५ करोड बराबर लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि रु १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि रु सात अर्ब ९३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

आजको बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदालाई पनि स्वीकृत गरेको छ । त्यस्तै, ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णयसमेत भएको छ ।

डाबर नेपालको पूँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि आजको बैठकले स्वीकृत गरेको छ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ । त्यस्तै, बोर्डमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ ।
 

प्रतिक्रिया