किलिएन एमबाप्पेले ह्याट्रिकमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब बार्सिलोनामाथि ४-१ गोलको शानदार जित निकालेको छ ।
बार्सिलोनालाई घरेलु मैदानमा पीएसजीले लज्जास्पद हार चखाएको हो ।
क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पीएसजीले तीन गोल गर्यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे ।
८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।