युएईलाई हराउँदै नेपाल विश्वकपमा

राम्रो अनलाइन     १८ फागुन २०७९, बिहिबार
युएईलाई हराउँदै नेपाल विश्वकपमा

काठमाडौँ–आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ  । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो ।

युएईका लागि इथन डिसुजाले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ तथा मारुफ मर्चेन्टले अविजित १२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार गरेको थियो ।
 
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन जोडे । उनले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५१ रन जोडेका हुन । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ तथा मिलन बोहराले १० रन बनाए ।

युएईका लागि ध्रुव परासरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई÷दुई विकेट लिए । त्यस्तै हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया