महिला दश हजार मिटर दौडमा सन्तोषीको स्वर्ण

राम्रो अनलाइन     २९ असोज २०७९, शनिबार

कास्की–पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । पोखरा रङ्गशालामा भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । 

राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहिन् । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ) की पुस्पा भण्डारी तेस्रो भइन् । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा भइन् ।

सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुन् । 
खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताइन् ।

उनले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताइन् । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गरिन् ।
 

प्रतिक्रिया