नवौँ राष्ट्रिय खेलकुदः बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण

राम्रो अनलाइन     २४ असोज २०७९, सोमबार
नवौँ राष्ट्रिय खेलकुदः बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण


कास्की–बागमती प्रदेशले  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भइन् । 

सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन् । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमशः द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भए ।
प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले बताए । प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ ।

प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । 

महिला क्रिकेटमा पुलिस क्लब विजयी

यसैगरी पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी महिला क्रिकेटको आजको खेलमा विभागीय नेपाल प्रहरीको पुलिस क्लब विजयी भएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुलिसले ६३ रनको फराकिलो अन्तरमा कर्णाली प्रदेशमाथि जीत निकाल्दै विजयी सुरुआत गरेको हो ।

पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा बर्सातले खेल रोकिन पुगेको थियो । दस ओभर दुई बलको खेल जारी रहँदा पानी परेपछि ‘डिएलए मेथड’ अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाउनुभयो । पुलिस क्लबका सबनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान एक÷एक  विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको  पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो ।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाए ।  यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले तीन तथा बीना थापा र एञ्जिला क्षत्रीले समान एक÷एक विकेट लिए ।

महिला क्रिकेटका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।    गण्डकीमा ४० वर्षपछि दोस्रो पटक भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार हाराहारीमा खेलाडीहरुकाबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।

प्रतिक्रिया