शिवालयमा भक्तजनको भीड (फोटो फिचर) 

राम्रो अनलाइन     ३० साउन २०७९, सोमबार
शिवालयमा भक्तजनको भीड (फोटो फिचर) 

 

काठमाडौँ–सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उनले सुनाए । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर मानिने प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आज साउनको अन्तिम सोमबार दर्शनार्थीको भीड । 

कोरोना महामारी फेरि बढ्न थालेकाले पशुपतिनाथ मन्दिर छिर्ने मूलढोकामा मास्क नभएका भक्तजनलाई मास्क वितरण गरेरमात्र प्रवे गराइएको छ । स्वास्थ्य सुरक्षाका लागि कोषले यस्तो उपाय अपनाएको पराजुलीले सुनाए । बिहान ३ः१५ बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि पशुपति क्षेत्रमा भीड छ । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा  शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।

 सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । 

साउन अन्तिम सोमबार झापाको अर्जुनधारा जलेश्वरधाममा भगवान् शिवको पूजा आराधना गर्दै श्रद्धालु भक्तजन ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान चार बजेदेखि नै यी मन्दिरको ढोका पनि खुला गरिएको जनाइएको छ ।
 
यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच  सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–४, छाङ्छाङ्दीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिरमा दर्शनार्थीको भीड । यहाँ हिमालय पुत्री पार्वतीको अन्तिम अङ्ग पतन भएको धार्मिक विश्वास रही आएको छ । 

 

पशुपतिनाथ मन्दिर परिसरमा सोमबार नृत्य प्रस्तुत गर्दैै भक्तजन । 

 

 

काभ्रेपलाञ्चोकको बनेपास्थित प्रसिद्ध चण्डेश्वरी माई मन्दिरको पश्चिमतर्फ भित्तामा मसान भैरव देवताको आकृतिमा मोबाइलमा तस्बिर कैद गर्दै साउने सोमबारका ब्रतालु महिला ।

 

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा सोमबार पूजाआजाका लागि पुगेका भक्तजन । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि रहेको गलेश्वर मन्दिरमा साउन महिनाको अन्तिम सोमबार बिशेष पुजाआजा हुने गर्छ । 

 

साउन महिनाको अन्तिम सोमबार धनगढीको उत्तरबेहडीस्थित शिबपुरी उत्तररामेश्वरम् ज्योर्जिलिङ्ग धाममा रहेका शिवलिङ्गमा पूजा गर्दै ब्रतालु महिला । 

 

साउन महिनाको अन्तिम पाँचौँ सोमबार तुलसीपुरस्थित त्रि–सिदेश्वरी मन्दिरमा पूजा गर्नेका लागि गएका श्रद्धालु भक्तजन ।

प्रतिक्रिया