नेपालले जित्यो टी–२० श्रृंखला 

राम्रो अनलाइन     २१ चैत २०७८, सोमबार
नेपालले जित्यो टी–२० श्रृंखला 

 

काठमाडौं– दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ ।  नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६।१ ओभरमा ११७ रनमा अलआउट भयो ।

१३औं ओभर बन्यो टर्निङ प्वाइन्ट

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले पहिलो विकेट तेस्रो ओभरमा गुमाएको थियो । करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाए ।

पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्‍यो ।

चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए, तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । यद्यपि १२ ओभरको समाप्तीसम्म खेल प्रतिस्पर्धामा थियो ।

पीएनजीले ४ विकेट मात्र गुमाएर ७९ रन बनाएको थियो । उसलाई जितका लागि ८ ओभरमा ८९ रनको आवश्यकता थियो र ६ विकेट बाँकी थियो ।

१३औं ओभरको बलिङमा कप्तान सन्दीप आफैं आए । २ ओभर बलिङमा कुनै सफलता नपाएका उनको यो तेश्रो ओभर थियो । १३ औं ओभरको पहिलो बलमा सन्दीपलाई रिले हुकुरेले चौका हाने । दोश्रो बलमा ४ रन बाइ भयो ।तर तेश्रो बलमा हुकुरे सन्दीपको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए ।

त्यस लगत्तैको बलमा सन्दीले नयाँ ब्याट्सम्यान नोर्मन भानुलाई डक आउट गरे । १३ औं ओभरमा १० रन लिएपनि २ बलमा लगातार २ विकेट गुमाएको पीएनजी दबाबमा पर्‍यो ।

१४ औं ओभरको तेश्रो बलमा दिपेन्द्रसिंह ऐरीले चाद सोपरलाई १ रनमा आउट गरे । जुन पीएनजीको सातौं विकेट थियो ।

त्यसपछि १६ औं ओभरको दोश्रो र अन्तिम बलमा करण केसीले विकेट लिएपछि नेपालको जित औपचारिकतामा मात्र बाँकी थियो, जुन औपचारिकता १७ औं ओभरको दोश्रो बलमा सोमपाल कामीले पूरा गरे ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

करणसँग जमेका दीपेन्द्रको अर्धशतक

त्यसअघि आक्रामक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए । क्रिजमा टिकिरहेका आसिफले दीपेन्द्रसँग मिलेर इनिङ्स सम्हाले ।

दुबैले ३८ रनको साझेदारी गरे । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि नेपाल दबावमा आयो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ शून्यमै पभेलियन फर्किए ।

पीएनजीका सेमो कमिअले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिएका हुन् ।

१६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाउन सक्यो ।

३८ बल खेलेका दीपेन्द्र ५ चौका मद्दतमा सर्वाधिक ५४ रनमा अविजित रहे । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

नेपालका लागि आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

प्रतिक्रिया