काठमाडौँ– काठमाडौँको दशरथ रंगशालामा जीपी कोइराला प्रोफेशनल आईटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ। उक्त च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका खेलाडी दिनेश बुढा मगर पहिलो, नेपाली सेनाकै प्रमोद कुमार साहु दोस्रो र सेनाकै प्रेम मगरले तेस्रो स्थान प्राप्त गरेका छन्। पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरे।

महिलातर्फबाट रुबिका खड्का (बागमती प्रदेश) पहिलो, नेपाली सेनाका हिमा खड्काले दोस्रो र लुम्बिनी प्रदेशकी खेलाडी तेरिया सापकोटाले तेस्रो स्थान प्राप्त गरेका छन्। उनीहरुले पनि क्रमशः ५ सय, ३ सय र २ सय डलर पुरस्कार पाए।
समापन समारोहमा खानेपानी मन्त्री उमाकान्त चैधारीले खेलाडीलाई पुरस्कार वितरण गरे। सो अवसरमा खेलाडी संगीना वैद्यका साथै खेलकुद परिषदका पदधाकारीहरुको उपस्थिति रहेको थियो।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको थियो। जीपी कोइराला फाउन्डेसनको बागमती प्रदेश समितिको युवा तथा खेलकुद विभाग र नेपाल इन्टरनेशल तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरेको कार्यक्रम संयोजक तुलसी थापा मगरले बताइन्।
चैत ५ देखि ६ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ७ प्रदेश, २ विभागीय टिम त्रिभुवन आर्मी क्ल्ब र सशस्त्र प्रहरी बलका क्रमशः ३र३ जना महिलारपुरुष खेलाडी गरी कुल ५४ जना खेलाडीले सहभागिता जनाएका थिए।




