काठमाडौँ– नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले जनस्तरमा लोकतन्त्र र परिवर्तनको अनुभूति हुने कार्यक्रम बनाएर जाने भएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्छन् भन्ने कार्यक्रम एक महिने अभियानको महत्वपूर्ण अंशमध्येको एक हो भने ।
उनले भने, ‘पार्टीको एक महिने अभियानमा काँग्रेसका बारेमा जनताको धारणा के छ ? जनता कांग्रेसबाट के चाहन्छन् ? त्यसबारे जनताको घरदैलोमा पुग्ने पार्टीका प्रतिनिधि र कार्यकर्ता पङ्क्तिलाई जनताले दिएको सुझावलाई आधार मानेर केन्द्र र स्थानीय तहको घोषणापत्र तयार गर्ने बेलामा समेट्छौँ ।’
उपसभापति खड्काले अभियानका क्रममा आएका जनताले अभिव्यक्त गरेका उपयुक्त सुझावलाई घोषणापत्रमा राख्ने बताए । उनले राष्ट्रको दूूरगामी महत्व राख्नेदेखि गाउँ–ठाउँको विकाससम्मका विकासका विषयमा तल्लो तहबाट आएका सुझावलाई कांग्रेसले महत्व दिने बताए ।
उनले भने, ‘कांग्रेसका बारेमा जनताले राख्ने भनाइ होलान्, विगतमा भएका कामबारे टिप्पणी होलान् । अहिलेको सन्दर्भमा यी काम गर्दा राम्रो हुन्छ भनेर जनताका तर्फबाट आएका सुझावलाई आवश्यकताअनुसार घोषणापत्रमा समेट्ने छौँ ।’ कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले अघिल्लो निर्वाचनमा भएका कमी–कमजोरीलाई सुधारेर चुनावी अभियानमा होमिने बताइन् । उनले भनिन्, ‘स्थानीय तहबाटै मनोवैज्ञानिक रूपमा सङ्गठनको नेतृत्व तयार गर्ने र नागरिकले प्राप्त गरेको लोकतन्त्र र लोकतन्त्र प्राप्तिपछि परिवर्तन अनुभूति हुने गरी स्थानीय तहको निर्वाचनमा जाने रणनीति पार्टीले बनाउँदैछ ।’
नेत्री भुसालले राजनीतिक मुद्दासँगै आर्थिक मुद्दालाई सबलीकरण गरेर दिगो विकासका विषयलाई घोषणापत्रमा समावेश गरिने छ, यसका लागि जनतासँग प्रत्यक्ष संवाद गर्ने र सङ्कलित सुझावका आधारमा घोषणापत्र निर्माण गरिने बताइन् । साथै जनजीविकाको सवाललाई समेट्ने, राष्ट्रिय राजनीतिमा रूपान्तरणको सवालमा विश्वसनीय मुद्दा तथा अर्थतन्त्रको सुधार र देशको दूूरगामी प्रभाव पार्ने रणनीतिक मुद्दालाई घोषणापत्रमा उठान गरेर कार्यान्वयनमा ल्याइने छ ।
महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयन गर्न सक्ने घोषणापत्र तयार गर्ने उल्लेख गर्दै भुसालले कांग्रेसको सङ्गठन र नेतृत्व देशको लोकतन्त्र, समृद्धि र विकासका लागि हो भन्ने आधार तयार गर्नकै लागि पार्टीले यो ढङ्गले कार्यक्रम ल्याउन लागेको बताए ।
प्राथमिकतामा शिक्षा र स्वास्थ्य
कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले स्थानीय तहको निर्वाचनमा आधारभूत तहका नागरिकका चाहनालाई सम्बोधन गरेर घोषणापत्र निर्माण गर्ने बताइन् । उनले कांग्रेसका केन्द्रीय प्रतिनिधि, जिल्ला र वडा नेतृत्वले हिमाल, पहाड, तराई, मधेसका सबै पालिकामा सुझाव सङ्कलन गरिरहेको बताइन् । उनका अनुसार जनताका सुझाव लिन प्रत्यक्ष संवाद भइरहेको छ ।
विशेषतः नागरिक पङ्क्तिबाट शिक्षा र स्वास्थ्यकै विषयमा धेरै सुझाव आएका छन् । उनले भनिन्, ‘गाउँका सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको पहुँच छैन । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी छैनन्, त्यसको व्यवस्था हुनुुपर्छ ।’
सडकको स्तरोन्नति, किसानले उत्पादन गरेका सामग्री बजारमा पुर्याउने व्यवस्था गर्न पाउनुपर्नेजस्ता विषय पनि सुझावका रूपमा आएका र यी सबै विषयको अध्ययन गरेर स्थानीय घोषणापत्रमा समावेश गर्ने जानकारी नेत्री यादवले दिइन् ।
अब ‘जनताको घोषणापत्र’
कांग्रेस सहमहामन्त्री जीवन परियारले निर्वाचनमा ‘जनताको घोषणापत्र’ ल्याउने दाबी गरे । उनले ७५३ वटै पालिकामा छुट्टाछुट्टै घोषणापत्र बनाउने र कुन पालिकाको कुन वडामा के गर्ने भन्ने विषयमा योजना त्यहाँ उल्लेख गरिने जानकारी दिए ।
उनले भने, ‘स्थानीय घोषणापत्रमा ती विषय समावेश गरेर जनताकै सुझावका आधारमा कामको सूची बनाउँछौँ । काँग्रेसको मात्रै नभएर त्यो जनताको घोषणापत्र हुनेछ । निर्वाचनमा विजयी भएपछि पालिकाका प्रमुख र उपप्रमुखले सोही घोषणापत्रका आधारमा काम अघि बढाउनुहुन्छ ।