सुनीता दुलाल, लोकगायिका
होलीको दिन साथीसंगीलाई निर्धक्क भएर रङ दल्न पाइन्छ । होली भन्नासाथ त्यो समय नै रंगिन लाग्छ । तर, हिलो, फोहर पानीका लोला हान्ने गतिविधि मनै पर्दैन । यस्ता काम गर्नु होली पर्वलाई बदनाम गर्नु हो ।
मेलिना राई, गायिका

होलीमा बोलचाल बन्द भएका साथीसँग पनि खुलेर रमाइलो गरिन्छ । जसले गर्दा आत्मीयता बढ्छ । यो यसको राम्रो पक्ष हो । होलीमा भाङ, जाँड–रक्सी खाई होहल्ला गरिनु चाहिँ ठीक होइन । कतिपयले नशामा झगडा गर्ने, नचिनेकालाई पनि जबर्जस्ती रङ लगाइदिने गर्छन् । यसो गरेको मन पर्दैन ।
आस्था राउत, गायिका

दुःख भुलेर एकापसमा खुशी साट्ने पर्व हो, होली । भेट नभएका साथीसँग यस दिन भेट हुन्छ । यो पक्ष राम्रो लाग्छ हो । जबर्जस्ती रङ दल्ने, पानी छ्याप्ने काम चाहिँ ठीक होइन । होलीमा फोहोर पानी प्रयोग गरेको पनि मन पर्दैन ।
राज सिग्देल, गायक
होलीमा मज्जाले रङ खेल्न पाइन्छ । लामो समयसम्म भेटघाट नभएका साथीलाई भेट्ने अवसर जुर्छ । रमाइलो गर्न पाइन्छ । होलीको यही पक्ष मन पर्छ । तर, आजभोलि बजारमा रसायन मिसिएका रङ बिक्री हुन्छन् । यस्ता रङले छालालाई हानि पुर्याउँछन् । आँखामा असर पार्छन् । रसायन भएका रङ प्रयोग गर्नु चाहिँ होलीको नराम्रो पक्ष हो ।
विल्सनविक्रम राई, अभिनेता
होलीमा आँखा, मन, दिमाग सबै रंगिन हुन्छन् । होलीम पूरै वातावरण नै रंगिन हुन्छ । साथीभाइको जमघटमा भोकप्यास सबै बिर्सिन्छु । रङभन्दा पनि पानीको होली खेल्न मन पराउँछु । होलीले सद्भाव बढाउँछ । त्यसैले मलाई होली असाध्यै मन पर्छ । तर, अचेल होलीमा कुकुर, बिरालोलाई पनि रङ लगाइदिन्छन् । त्यो देख्दा नरमाइलो महसुस हुन्छ । जनावरलाई रङ लगाइदिनाले उनीहरूको कपाल झर्छ । उनको ज्यान पनि जान सक्छ । मान्छेहरूको यो व्यवहार चाहिँ मन पर्दैन ।
विपिन कार्की, कलाकार
होलीमा माया–प्रेम, सद्भावको पर्व हो । यही यसको विशेष गुण हो र राम्रो पक्ष पनि । तर, जबर्जस्ती अरूको इच्छाविपरीत रङ लगाइनु, रक्सी खाएर झैझगडा गर्नु, होहल्ला मच्चाउनु राम्रो होइन ।
हिरा बिजुली नेपाली, कलाकार
होलीले दुःख पनि रंगिन बनाई सुखमा बदलिदिन्छ । हरेकको जीवनमा खुशी ल्याउँछ । शत्रु पनि मित्र बन्छ । यही होलीको विशेषता हो । तर, होली हो भन्दै जथाभावी लोला हान्ने काम मन पर्दैन ।
रामचन्द्र काफ्ले, गायक
होली भन्नासाथ मनै प्रफुल्ल भएर आउँछ । साथीभाइसँग सुमधुर सम्बन्ध कायम राख्न यो चाडले सहयोग गर्छ । होलीमा धेरै महिलालाई निशाना बनाएर लोला हान्ने, अपमान गर्ने काम गरेको मन पर्दैन । यो त रमाइलो गर्ने पर्व हो । कसैलाई हेपेर दुःखी बनाउन पाइँदैन ।
गजित विष्ट, अभिनेता
होलीले मनमा कुण्ठिएका वेदनालाई भुलेर अघि बढ्न सहयोग गर्छ । होलीले रङ लिएर आउँछ र जीवन रंगिन बनाएर जान्छ । यो नै यसको मलाई मन पर्ने पक्ष हो । तर, होली आउनुअघि नै मान्छेलाई बाटा–बाटामा पानी छयाप्ने काम चाहिँ ठीक लाग्दैन । यो त संस्कारमा बसेर मनाउने पर्व हो ।