काठमाडौँ– गायक प्रकाश सपूतको नयाँ गीत ‘पिर’ विवादमा परेको छ। माओवादी जनयुद्धमा आधारित उक्त गीतमा युद्धमा सामेल भएर घाइते र अपांगपूर्ण जीवन बिताउन बाध्य पारिएको चित्रण गरिएको छ।
यस्तै युद्ध सकिएपछि केही टाठाबाठाहरूले मात्र परिवर्तनको फाइदा लिएको तर युद्धमा संलग्न व्यक्तिहरूको परिवार छिन्नभिन्न भएको, रोजगारी नपाएर यौन व्यवसायी बन्नुपरेको सन्दर्भ उल्लेख छ। यिनै सन्दर्भ आफूहरूका लागि सह्य नभएको भन्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध गरेको हो।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जालमामार्फत गायक सपूतलाई माफी माग्न र भिडियो युट्युबबाट हटाउन चेतावनी दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’ प्रकाश सपूत, सुरक्षा पन्त आदिको अभिनय रहेको यो गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टा पनि नहुँदै ट्रेन्डिङमा आइसकेको छ।