काठमाडौँ– भारतका पाँच राज्यमा विभिन्न चरणमा भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० अधिकांश राज्यमा विजयी भएको छ । उत्तर प्रदेश‚ उत्तराखण्ड‚ पञ्जाव‚ गोवा र मणिपुरमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा र एउटामा आम आदमी पार्टी विजयी भएको हो ।
उत्तर प्रदेश‚ उत्तराखण्ड‚ गोवा र मणिपुरमा भाजपा विजयी भएको छ भने पञ्जावमा आम आदमी पार्टीले जित हासिल गरेको छ । उत्तर प्रदेशमा रहेको कुल ४०३ सिटमध्ये भाजपाले २७० सिटमा जित निकालेको छ भने समाजवादी पार्टीले १२८ सिट प्राप्त गरेको छ । सन् २०१७ मा उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा भाजपाले ३२५ सिटमा जित हासिल गरेको थियो भने समाजवादी पार्टीले ५४ सिट प्राप्त गरेको थियो । सरकार बनाउन उत्तर प्रदेशमा २०३ सिट जित्नुपर्ने हुन्छ ।
यसैगरी उत्तराखण्डमा भाजपा ४८ सिटको जित निकालेको छ । उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ । सन् २०१७ को निर्वाचनमा उत्तराखण्डमा भाजपाले ५७ सिटमा जित हासिल गरेको थियो भने कांग्रेसले ११ सिट प्राप्त गरेको थियो । सरकार बनाउन उत्तराखण्डमा ३६ सिट जित्नुपर्ने हुन्छ ।
यसैगरी गोवामा भाजपाले २० सिट प्राप्त गरी विजयी भएको छ । कांग्रेसले भने १२ सिटमा जित हासिल गरेको छ । सन् २०१७ को चुनावमा गोवामा भाजपाले १३ सिटमा जित निकालेको थियो भने कांग्रेसले ३० सिट जितेको थियो । सरकार बनाउनका लागि गोवामा २१ सिट जित्नुपर्ने हुन्छ ।
पञ्जावमा भने आम आदमी पार्टी ९आप० दुई तिहाई सिटका साथ विजयी भएको छ । सन् २०१७ मा २० सिटमा सीमित भएको आप अहिलेको चुनावमा ९२ सिटमा जित निकालेको हो । उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ । पञ्जावमा यसअघिको निर्वाचनमा कांग्रेसले ७७ सिटमा जित निकालेको थियो । सरकार गठन गर्नका लागि पञ्जावमा ५९ सिटमा जित निकाल्नुपर्ने हुन्छ ।
योसँगै भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी९आप० ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पारेको छ ।
त्यस्तै मणिपुरमा पनि भाजपा ३० सिटको जित निकालेको छ । यसअघिको चुनावमा मणिपुरमा भाजपाले २१ सिटमा जित हसिल गरेको थियो । सरकार बनाउनका लागि मणिपुरमा कुलमध्ये ३१ सिट जित्नुपर्ने हुन्छ ।