विराटनगर – मोरङ व्यापार संघले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ २०२२ आयोजना गर्ने भएको छ । चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पो आकर्षक र भव्य हुने संघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
संघका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खजिन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनीका अलवा छिमेकी राष्ट्र भारतलगायत, बंगलादेश, पाकिस्तान आदि देशका उत्पादिन वस्तु रहेनछन् ।
एक्सपोका अवसरमा स्वदेशी तथा विदेशी लगानीको सम्भावनाबारे छलफल गर्ने उनले जानकारी दिए । प्रविधियुक्त वातानुकूलित र कुलरसहित सञ्चालन हुने एक्स्पोमा २७५ वटा स्टल रहने एक्स्पो संयोजक विकास कुमार बेगवानीले बताए ।
एक्स्पोमा वातानुकूलित ८०, कुलरसहितको ६० र साधारण १०६ वटा स्टल रहने संयोजक बेगवानीले जानकारी दिए । यस्तै एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङलगायत साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूना राखिने संयोजक बेगवानीले बताए । एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारबाट सांगीतिक कार्यक्रम हुनेछ ।
एक्स्पो सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने ४० देखि ४५ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको मेला संयोजक बेगवानीले बताए । यस पटकको एक्स्पोमा स्वदेशी र भारतीयसहित तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।