राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यअनुसार सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै उनले प्राकृतिक र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण गरी खेलाडी उत्पादन गर्ने काममा प्रदेश सरकारले योजना बनाइरहेको बताए । उनले भने, “पोखरा रङ्गशाला खेल पूर्वाधारले स्पोर्टस भिलेजका रुपमा अघि बढिरहेको छ । सुन्दर र साहसिक पर्यटनको केन्द्र गण्डकी प्रदेशमा खेलकुद विकासका लागि दिगो योजनासहित अघि बढ्दै छौँ ।”
प्रदेश सरकारले बजेट कार्यक्रममा उल्लेख गरेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्श्यीय रङ्गशाला बनाउनका लागि जमीन खोजी गरेपनि उपयुक्त जमीन नपाउँदा प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट १३औँ दक्षिण एशियाली खेलकुदका आठ खेल पोखरामा भव्यताका साथ सम्पन्न भएकाले आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि पनि सहयोग आवश्यक रहेको बताए ।
नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकासमा राज्यको लगानी नभएको भन्दै आधारभूत खेल संरचना निर्माणमा ध्यान दिन आग्रह गरे । प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले नेपालको राष्ट्रिय भलिबल टोलीमा गण्डकी प्रदेशबाट प्रभाव रहे पनि पछिल्लो समय नयाँ खेलाडी उत्पादन हुन नसकेको तर्फ चिन्ता व्यक्त गर्दै प्रदेश र स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।