नेपाली क्रिकेटर सन्दीप लामिछाने इंल्यान्डमा हुने 'द हन्ड्रेड' क्रिकेटको पहिलो संस्करणका लागि रिटेन भएका छन् । उनलाई ओभल इन्भिसिबल्सले १ करोड ५२ लाखमा रिटेन गरेको हो ।
उनी सन् २०२१ को पहिलो संस्करणका लागि रिटेन भएका हुन् ।
कोरोना महामारीका कारण इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले २०२० को जुलाई तेस्रो सातादेखि आयोजना गर्ने भनेको द हन्ड्रेड सन् २०२१ सम्मका लागि स्थगित गरिएको थियो।
द हन्ड्रेडमा नेपालका सन्दीप लामिछानेलाई २०७६ को कात्तिकमा भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आबद्ध गरेको थियो। सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ५२ लाख रुपैयाँ) मा ओभलले आबद्ध गरेको थियो।
प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको थियो।
द हन्ड्रेड ८ टिमको सहभागिता रहनेछ।
द हन्ड्रेड कस्तो क्रिकेट हो ?
द हन्ड्रेड नयाँ फर्म्याटको क्रिकेट हो । यसमा दुबै पक्षले १००/१०० बल गर्न पाउँछन् ।
लामो फर्म्याटबाट सुरु भएको क्रिकेटलाई छोटो फर्म्याटमा ल्याउँदा लोकप्रियता बढ्दै गएपछि यसको अवधारणा आएको हो । क्रिकेटमा एक दिवसीय (५० ओभरको खेल), टी ट्वेन्टी (२० ओभरको खेल) तथा अहिले टी टेन (१० ओभरको खेल) ले लोकप्रियता पाइरहेको छ ।
हाल टी टेन क्रिकेटको चौँथो संस्करण युएईमा चलिरहेको छ ।
यस्तो छ क्रिकेट नियम
द हन्ड्रेड नयाँ फर्म्याटको भएकाले यसबारे क्रिकेटप्रेमीमा उत्सुकता र अनभिज्ञता दुबै छ । यसका केही साधारण नियम यस्ता रहेका छन् :
- १०–१० बलमा इन्ड चेन्ज गरिने (एउटा इन्डबाट १० बल गरिनेछ)
- एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउने
- एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउने
- खेलमा पहिलो २५ बलको पावरप्ले हुने
- पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइने।