कोरोना भाइरस: विकासशील देशमा कोभिड-१९ ले अक्सिजन सङ्कट निम्त्याउँदै

एजेन्सी     १८ माघ २०७७, आइतबार
कोरोना भाइरस: विकासशील देशमा कोभिड-१९ ले अक्सिजन सङ्कट निम्त्याउँदै

अस्पतालमा अक्सिजनको मौज्दात सकिनुअघि मरिया अक्सिलियाडोला ड क्रुजले कोभिड-१९ विरुद्ध उत्साहप्रद सङ्केत दिइरहेकी थिइन्।

ज्यानुअरी १४ मा उनको शरीरमा अक्सिजनको मात्रा सामान्य तह ९५ प्रतिशतभन्दा माथि थियो। तर उक्त महत्त्वपूर्ण स्रोतबाट बन्चित भएको केही घन्टामै उनको अक्सिजनको तह ३५ प्रतिशतमा झर्‍यो। यस्तो अवस्थामा बिरामीलाई सामान्यतया पाइप लगाइन्छ र मशिनबाट अक्सिजन दिइन्छ।

अन्तत: अवकाशप्राप्त ६७ वर्षिया नर्सको ज्यान गयो। "त्यो अवस्था भयानक थियो," उनकी शोकमग्न बुहारी थलिटा रोचालेले भनिन्, "त्यो एउटा प्रलय थियो। कैयौँ वृद्ध बिरामीको अवस्था बिग्रिँदो थियो, उनीहरू निला हुँदैथिए।"

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भावपूर्ण भिडिओमा उनले उक्त अवस्था ब्रजिलको उत्तरी सहर मनौअसमा देखिएको बताएकी छन्।

"हामी हतास अवस्थामा छौँ, सम्पूर्ण आपत्‌कालीन निकायमा अक्सिजन सकिएको छ.... थुप्रै मानिस मरिरहेका छन्," उनले बीबीसी ब्रजिल सेवालाई आफ्नी सासु बाँच्ने आशा गरेको तर त्यसदिन उक्त वार्डमा १० जनाले ज्यान गुमाएको बताइन्।

"उनको कोभिडका कारण मृत्यु भएको होइन, अक्सिजनको अभावमा ज्यान गुमाइन्।"

कोभिडबाट सबभन्दा धेरै ज्यान गुमाउने विश्वको दोस्रो देशमा पर्छ ब्रजिल। त्यहाँ दुई लाख १९ हजारको मृत्यु भइसकेको छ। महामारीका क्रममा मनाउस सहरको स्वास्थ्य प्रणाली दुई पटक अवरुद्ध भइसकेको छ।

डिसेम्बर र ज्यानुअरीमा मृत्यु दोबर भएको छ जसले गर्दा स्थानीय सरकारले नयाँ २२ हजार चिहानको व्यवस्था गर्ने योजना घोषणा गर्नुपरेको थियो।

एक लाख ५२ हजार जनाको ज्यान गइसकेको मेक्सिकोका अस्पतालहरू र क्लिनिकहरूबाट अक्सिजन सिलिन्डरहरू चोरी भइरहेको समाचारहरू आएका छन्।

एउटा घटनामा चोरीको सिलिन्डर ट्रकमा राखिएको अवस्थामा दुईजना पक्राउ परेका थिए।

यो महिनाको सुरुमा इजिप्टका कम्तीमा दुई वटा अस्पतालमा अक्सिजनको अभाव रहेको आरोप लगाइएको भिडिओ सार्वजनिक भएको थियो। एउटा अस्पतालमा छायाङ्कन गरिएको भिडिओमा बेडहरू कम्मलले छोपेको देखिन्छ। त्यसमा दाबी गरिएको छ, "आईसीयूमा सबैको मृत्यु भयो।"

अधिकारीहरूले भने चारजना बिरामीको अक्सिजनको अभावले नभै पुरानै रोगका कारण मृत्यु भएको बताएका छन्। उनीहरूले आपूर्ति समस्या रहेको कुरा अस्वीकार गरे।

तर कैयौँ देशहरूमा यस्तै घटनाहरूले सरकारहरूमाथि आधारभूत र जीवन रक्षक उपचार दिन दबाव परेको प्रकाशमा आएका छन्।

अक्सिजन सङ्कट
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार कोभिड-१९ का पाँचजना बिरामीमध्ये एकजनालाई अक्सिजनको आवश्यकता पर्छ। गम्भीर अवस्थामा पाँचजनामध्ये तीनजनालाई खाँचो पर्छ।

उसले देश विशेषको तथ्याङ्क नभएको तर केही अस्पतालहरूमा गम्भीर र चिन्ताजनक अवस्थाका बिरामीको वृद्धिले सामान्य अवस्थाभन्दा पाँचदेखि सातगुणा बढी अक्सिजनको माग रहेको जनाएको छ।

गैर नाफामूखी अन्तर्राष्ट्रिय संस्था पीएटएचले सन् २०२० मा अक्सिजनको माग 'नाटकीय रूपमा बढेको' जनाएको छ। "हामीले बिजुली, पानी र अन्य अत्यावश्यक वस्तुको बारेमा जस्तै अक्सिजनकोबारे पनि सोच्न आवश्यक छ," पीएटएचकी लिजा स्मिथले भनिन्। "खराब अवस्था आएपछि मात्रै चिन्ता गर्ने कुरा होइन, किनकि त्यो अवस्था आउँदा मान्छे मर्छन्।"

कोभिड-१९ अक्सिजन निड्स ट्र्याकरका अनुसार महामारीले निम्त्याएको अतिरिक्त माग सम्बोधन गर्न न्यून र मध्यम आय भएका देशहरूमा हरेक दिन करिब १५ लाख अक्सिजन सिलिन्डर आवश्यक हुन्छ।

"सब सहारान अफ्रिका, एशिया र ल्याटिन अमेरिकाभर अक्सिजनको अभाव छ," एभ्रि ब्रेथ काउन्ट्स सम्बद्ध लेइथ ग्रीनस्लेडको भनाइ छ। ट्र्याकरका अनुसार ब्रजिल विश्वमै माग धेरै बढेको देशहरूमध्ये एक हो जहाँ नोभेम्बर महिनायता हरेक दिन अतिरिक्त तीन लाख ४० हजार सिलिन्डरको खाँचो छ।

भारतजस्ता विकासशील देशहरूमा एप्रिल र जुलाईको बीचमा ६८ प्रतिशत माग वृद्धि भएकोमा जुलाईदेखि सेप्टेम्बरमा उच्च बिन्दुमा पुग्दासम्म त्यो माग ८४ प्रतिशतमा पुगेको थियो। नाइजेरियामा थप १० हजार सिलिन्डर माग रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। त्यहाँ देशका हरेक भागमा अक्सिजनको अभाव छ।

ट्र्याकरका अनुसार दक्षिण अफ्रिकामा दैनिक एक लाख अतिरिक्त सिलिन्डर आवश्यक पर्छ।

(बीबीसीबाट)
 

प्रतिक्रिया