जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई जितका लागि २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाउँदै २११ रन बनाएको हो ।
एपीएफको बलरकासामु दबाबमा रहेका आर्मीका ब्याट्समेनले आक्रामक पारी खेल्न सकेनन् । उसका लागि हरि चौहानले ५८ रन बनाए । त्यस्तै राजेश पुलामीले २८ रन जोड्दा शहब आलमले नटआउट २५ रन बनाए भने सुशन भारी १३ रनमै पेभिलियन फर्किए ।
एपीएफका अबिनाश बोहराले धारिलो बलिङ गर्दै ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए । त्यस्तै किशोर महतोले २ विकेट हात पारे ।
एपीएफले अहिले जवाफी ब्याटिङ थालेको छ । उसले ३.१ ओभरको समाप्तीमा १ विकेट गुमाएर २१ रन जोडेको छ ।
एपीएफले पहिलो विकेटका रुपमा सुवास खकुरेललाई १४ रनमा गुमाएको छ ।