कलाकारलाई समाजको गहना भनिन्छ । समाजले कलाकारलाई गहना मानेपछि समाजप्रति कलाकारका पनि केही दायित्व हुुन्छन् । हामी कलाकारले समाजमा पर्दाअगाडि र पर्दापछाडि रहेर दोहोरो भूमिका निर्वाह गर्नुपर्छ । पर्दाअगाडि भन्नाले फिल्ममा आफ्नो भूमिका निर्वाह गरेर । पर्दापछाडि चाहिँ समाजमा रहेको विभिन्न समुदाय र क्षेत्रलाई प्रत्यक्ष रूपमा सहयोग गरेर ।
आफूले जिम्मेवारी पाएको चरित्रको गहिराइमा डुब्नुुपर्छ । त्यसमा भिजेर काम गर्नुपर्छ । यो कलाकारको समाजप्रति पहिलो कर्तव्य हो । आफूले निर्वाह गरेको भूमिकामा इमानदार भएर लाग्ने कलाकार सामाजिक उत्तरदायित्वबाट कहिल्यै टाढा भाग्न सक्दैन ।
कलाकार भएकै कारण हामीलाई देशदेखि विदेशसम्म धेरैले चिन्छन्, माया गर्छन् । हामीले चालेको हरेक कदम समाजका लागि महत्वपूूर्ण हुन्छ । हामीले गरेका काम छिट्टै प्रचारमा आउँछन् । राम्रो काम गर्दा प्रशंसा पाइन्छ । नराम्रो काम गर्दा त्यसको आलोचना खेप्नुपर्छ । समाजमा धेरै मान्छेले सामाजिक काम गरिरहेका हुन्छन् । तर, अरूले गरेका कामकुरा हत्तपत्त बाहिर आउँदैन । राम्रो कुरा पनि कलाकारकै आउँछ, नराम्रो कुरा पनि कलाकारकै आउँछ । हामीले गरेको कामलाई साराले पछ्याइरहेका हुुन्छन् । त्यसैले हामीले राम्रो काम गरे समाजमा राम्रो छाप पर्छ ।
समाजमा हामीले गरेका काम देखावटी मात्रै हुुनुु हुँदैन । लक्षित समुदाय त्यो कामबाट लाभान्वित हुनुपर्छ । धेरै मान्छेले मिडियामा आउनकै लागि सामाजिक काम गरिरहेका हुन्छन् । तर, सामाजिक काम मुुखले हैन, मनले गर्नुपर्छ । धेरैले पैसा भए समाजको लागि काम गर्न सकिन्छ भन्छन् । वास्तवमा त्यो एकदमै गलत हो । सामाजिक कार्य गर्नका लागि पैसाभन्दा पनि ठूलो त मन हुनुपर्छ । ‘आफू मात्र नबनौँ, अरूलाई पनि बनाऔँ’ भन्ने भावना हुुनुपर्छ ।
समाज परिवर्र्तनका लागि सरकारमै जानुपर्छ भन्ने छैन । आफूले बसेको र आफूूले सकेको ठाउँबाट पनि काम गर्न सकिन्छ । समाजमा केही गर्छु भनेर कदम चाल्दा निकै चुनौती आउँछन् । त्यसमा कसैले कहिल्यै पनि हार खानु हुँदैन । त्यही क्षेत्रमा आँट गर्नुपर्छ, रमाउन सिक्नुपर्छ ।
मनोरञ्जन क्षेत्रमा आउनअघिदेखि म समाजप्रति उत्तरदायी थिएँ । बच्चादेखि नै अरूलाई सहयोग गर्ने स्वभावकी थिएँ । कसैको दुःख देख्न सक्दैनथेँ । सामाजिक काममा मलाई आत्मसन्तुष्टि मिल्छ । यसैमा आनन्द लाग्छ । काम गर्ने थप ऊर्जा मिल्छ ।
सिन्धुुपाल्चोकमा माझी बस्ती बनाउने योजना मैले गरेको सानो प्रयास मात्र हो । यो एउटा अभियान हो । त्यहाँबाट अरूले पनि केही सिक्नुपर्छ जस्तो लाग्छ । माझी बस्ती निर्माणका लागि भनेर नै ‘श्वेताश्री फाउन्डेसन’ जन्मियो । मेरो सानो सहयोगले समाज खुशी हुन्छ भने किन नगर्ने ? यही सोचले अगाडि बढेँ ।
राम्रो काम गर्ने हिम्मत गर्दा सहयोगी हातहरू आफँै बढ्छन् । त्यसका लागि चाहिँ ‘केही गर्छु’ भन्ने भावना हुुनुपर्छ, साथ दिने प्रशस्तै भेटिन्छन् । मनमा कुनै किसिमको स्वार्थ राख्नुु हुँदैन । समाजमा केही गर्न खोज्नेलाई सबैले सहयोग गर्नुपर्छ ।
आफूूले गरेको सहयोगले अरूको जीवन सप्रिन्छ भने त्यसमा पछाडि हट्नु हुँदैन । वास्तवमा सामाजिक काम भनेको ‘गर्छु’ भनेर मात्र हुुँदैन । जहाँ–जहाँ जस्तो परिस्थिति आइपर्छ, त्यहीअनुसार समाजमा भिज्नुुपर्छ । सामाजिक काम जबर्जस्तीले हुने कुरा हैन । पैसाले मात्रै पनि समाजका लागि काम गर्न सकिँदैन । समाजको आवश्यकता बुुझेर काम गर्न सक्ने क्षमता पनि हुनुपर्छ ।