नयाँ दिल्ली, १३ जेठ (एएनआई) : भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्यामा कमी हँुदै आएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सङ्क्रमितको विवरणमा २४ राज्यमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ ।
पछिल्लो एक हप्तामा यसरी सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उनीहरुले भाइरसबाट सङ्क्रमित भएर अहिले निको हुनेको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, “देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितको संख्यामा कमी हुँदै आएको देखिएको छ ।” तीमध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।
देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीले जानकारी दिएका छन् । दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ ।
दैनिक सङ्क्रमित भएकाको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै जानुले महामारी कम हुँदै गएको सकारात्मक सङ्केत देखिएको अधिकारीको भनाइ छ ।
भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट सङ्क्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा तीन हजार ८४७ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट तीन लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएसँग देशभर हालसम्म कूल दुई करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजारभन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।