स्वप्न सुमन अर्थात् सुमन थापा । जसको रोजाइमा जोडघटाउ र हिसाबकिताब अर्थात् गणित विषय कहिल्यै परेन । उनलाई साहित्य प्रिय थियो । नेपाली शब्दकोश पल्टाउँदै जाँदा एक दिन ‘स्वप्न’ भन्ने शब्दमा उनका आँखा टक्क अडिए । जसको अर्थमा उनले ‘सपना’ देखे । त्यसैलाई आफ्नो नामको अगाडि राखेँ । त्यो सपना उनको संगीत क्षेत्रप्रतिको सपना थियो । ‘राम्रो आर्टिस्ट बन्ने सपना देखेर सुरुमा नामलाई नै आर्टिस्टिक बनाएँ,’ उनले भने, ‘त्यो बेला म १० कक्षामा पढ्थेँ ।’
पुख्र्यौली घर धादिङ भएका उनी हाल भने काठमाडाँै, चन्डोलमा बस्छन् । २६ वर्षीय स्वप्नले आफ्नो जीवनको सात वर्ष होस्टेलमा बिताए । ‘हत्तपत्त कसैसँग बोल्दिनथेँ,’ उनले होस्टेल जीवन सम्झिए, ‘साथीहरू पनि खासै थिएनन् । साथीहरूसँगभन्दा बढी मेरो संगत किताबसँग थियो । त्यो बेला होस्टलको लाइब्रेरीमा भएका कुनै पनि कथा, कविता र उपन्यासका किताब बाँकी छोडिनँ ।’ त्यतिबेलादेखि नै उनलाई गीत लेख्ने बानी प¥यो । सँगसँगै गाउन पनि थाले । उनी आफ्नो गीत आफैँ लेख्छन् । कल्पना गरेर होइन, अनुभव गरेर । ‘मैले जे अनुभव गरेको छु, त्यही कुरा गीतमा लेख्छु,’ उनले भने, ‘आफूले लेखेको गीत आफँै गाउँदा झन् रमाइलो हुन्छ ।’
चार कक्षामा पढ्दादेखि नै उनले गाउन सुरु गरेका थिए । गीत गाउने भन्नेबित्तिकै स्कुलमा उनको नाम पहिलो नम्बरमा उच्चारण हुन्थ्यो । ‘सबै जनाले राम्रो गाउँछ भनेपछि झन् गाउन मन लाग्थ्यो,’ उनले भने, ‘त्यसमा ममीले पनि एकदमै धेरै सपोर्ट गर्नुभयो ।’
स्वप्न युट्युबले जन्माएका स्टारमध्ये एक हुन् । जो सपना देखिरहन्छन् र त्यसलाई पूरा गर्न लागिरहन्छन् । सन् २०१२ बाट उनी स्वप्न सुमनको नामबाट युट्युबमा सक्रिय छन् । युट्युबले आफ्नो करिअरमा निकै ठूलो सहयोग गरेको उनी बताउँछन् । ‘सुरुमा फेसबुकमा गीत गाउँदै भिडियोहरू अपलोड गर्थें,’ उनले भने, ‘साथी र आफन्तले हेरेर कमेन्ट गर्नुहुन्थ्यो । एक दिन एक जना आफन्तले मेरो गीत युट्युबमा राख्न सल्लाह दिनुभयो । युट्युबलाई सही तरिकाले सदुपयोग गरेर यहाँसम्म आइपुगेँ ।’
‘सानु म’, ‘सुन भन न’, ‘मोहनी लाग्ला है’, ‘उकाली चढौँला’ आदि गीतको कभर गाएर उनले लोकप्रियता हासिल गरेका थिए । ‘के साह्रो राम्री भाको’ उनको पहिलो गीत हो । पहिलो गीतबाटै उनी चर्चित बने । उक्त गीत रिलिज भएपछि उनले निकै प्रशंसा बटुले । ‘जहाँ जाँदा पनि सबैले ‘के साह्रो राम्री भाको’ गाउनु न भन्छन्,’ उनले भने । त्यस्तै उनको ‘कसरी भनौँ’ बोलको गीत पनि अहिले चर्चामा छ । ‘त्यो मैले ११ कक्षामा पढ्दा लेखेको गीत हो,’ उनले भने, ‘त्यो गीतले यति धेरै माया पाउला भनेर सोचेको पनि थिइनँ ।’ यो गीत नेसनल म्युजिक अवार्डको उत्कृष्ट नवप्रतिभा विधामा पनि मनोनीत भएको थियो । त्यस्तै ‘कुनै दिन– द कफी सङ’ पिपुल्स च्वाइस अवार्डका लागि मनोनीत भएको थियो । त्यसबाहेक ‘म तिम्रो’, ‘फिका फिका’, ‘मेरो सानो परी’ जस्ता उनका गीत युवा पुस्ताले रुचाएका गीत हुन् ।
आफूसँग कला भए जुनसुकै क्षेत्रमा अगाडि बढ्न सकिने उनको मान्यता छ । यस हिसाबले उनी आफूलाई निकै भाग्यमानी ठान्छन् । ‘करिअरको सुरुवातदेखि नै धेरै माया र साथ सहयोग पाइरहेको छु,’ उनले भने, ‘आफूले देखेको सपनामा बाँच्ने मौका पाएको छु ।’ सफलता भन्ने कुरा मेहनतमा भर पर्ने उनी बताउँछन् । भन्छन्, ‘संगीत क्षेत्रमा मेहनत भनेको अभ्यास रहेछ । जसले गायकलाई आत्मविश्वासी बनाउँछ ।’ अन्तर्राष्ट्रिय गायक एड सिरनलाई उनी फलो गर्छन् । नेपालमा भने धेरै गायकबाट उनी प्रभावित छन् ।
‘इन्टरनेटबाटै म्युजिक कोर्स, भोकल र गिटार सिकेँ,’ उनले भने, ‘मेरो त गुरु नै त्यही इन्टरनेट हो । अहिलेसम्म जेजति सिकेको छु, इन्टरनेटबाटै सिकेको छु ।’
आफूलाई गर्न मन लगेको कुरा गरिहाल्न उनी सुझाउँछन् । ‘अरूले के भन्ला, के सोच्ला भनेर सोच्नु हुँदैन,’ उनी भन्छन्, ‘अरूको होइन, आफ्नै मनको कुरा सुन्नुपर्छ ।’
युवाहरूले आफ्नो उमेर, जोशजाँगर विदेशमा खर्चिएको देखेर उनी दुःख व्यक्त गर्छन् । ‘मलाई कहिल्यै पनि बाहिर गएर सेटल हुन मन लागेन,’ उनले भने, ‘नेपालमा बसेर पनि केही सकिन्छ भनेर उदाहरण बन्नु छ ।’ युवा पुस्ताका लागि नेपालमा नै धेरै अवसर भएको उनी बताउँछन् । भन्छन्, ‘यहीँ बसेर सबैले आ–आफ्नो क्षेत्रबाट सकेको काम गर्नुपर्छ । मेहेनत गरे जताततै अवसर छ ।’