कता हिँडेको, कसलाई खोजेको
भन न भन ए बिरानो परदेशी
बिरानो परदेशीको ठेगाना खोज्ने गायिका हुन्, आभा मुकारुङ । एकताका निकै चलेको यो गीत अहिले पनि युट्युबमा सर्च गरेर हेर्नेको संख्या घटेको छैन । मीठो स्वरकी धनी आभा सांगीतिक कार्यक्रमका लागि विदेश गइरहन्छिन् । पूर्व भोजपुरको बाहुनगाउँमा ३४ वर्षअघि जन्मेकी आभाले करिअरका उकाली–ओराली मनग्गे भोगेकी छिन् ।
बुवा तीर्थराज र आमा नरदेवीकी छोरी आभाको बाल्यकाल सामान्य रूपमा बित्यो । लेकबेसी, घाँसदाउरा, मेलापात गर्दागर्दै बित्यो बाल्यकाल । गाउँकै सरकारी विद्यालयमा पढिन् । बाल्यकालमा आमाबुवाले गाउने संगिनी बालन गाएको सुनेर हुर्किइन् । त्यसैबेला संगीतप्रति नजानिँदो लत बस्यो आभाको । आमाले गीत गाउँदा उनी ध्यान दिएर सुन्थिन् । टाढा–टाढाबाट पाहुनाहरू घरमा आउँदा आभालाई गीत गाउन लगाइन्थ्यो । उनी खुशी हुँदै भाका हालेर गीत गाउँथिन् । गीत सुनिसकेपछि उनलाई सबैले हौसला दिन्थे । ‘ठूली भएर रेडियो नेपालमा गीत गाउनू’ भन्ने आशीर्वाद दिन्थे । उनको संगीतप्रतिको लगाव यसरी नै बढ्दै गयो । वन जाँदा रनबन घन्किने गरी गीत गाउँथिन् । पात बजाउन उनी सिपालु थिइन् । ‘रूखको सिँयालमा बसी गीत गाउँदागाउँदै कतिपटक त गाईबस्तुले अर्काको बाली खाइदिन्थे,’ आभा सम्झन्छिन् । स्कुलमा पनि उनले गीत गाइन् । उनको स्वरको चर्चा हुन थाल्यो । पर–पर गाउँसम्म उनको मीठो स्वरको चर्चा फैलिन थाल्यो । गाउँमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनी बालकलाकारका रूपमा सहभागी हुन्थिन् ।
आभाले राल्फा, लेकाली समूहका गीतहरू पनि सानैमा सुनिन् । सिम्मा गीति नाटकका गीतहरू, मेघालय आन्दोलनको विषयमा गाइएका गीतहरू, झलकमानका गीतहरू उनले धेरै सुनिन् । रेडियो नेपाल निकै सुन्थिन् । रेडियोमा गीत गाउन पाए हुन्थ्यो भन्ने सपना सजाउँथिन् ।
मानिसलाई सपनाले कहिल्यै पछ्याउँदैन । सपनालाई मानिसले पछ्याउनुपर्छ । आभाको जीवनमा पनि त्यस्तै भयो । उनले बालखैमा देखेको सपना पछ्याइन् । संगीतप्रतिको लगावले उनलाई भोजपुरको पहाडी गाउँबाट रेडियो नेपालको ढोकासम्म पु¥यायो । २०५४ साल वैशाखमा उनको स्वर रेडियो नेपालमा पहिलो पटक बज्यो । उनलाई त्यो दिन राम्रोसँग याद छ । ‘त्यो सोमबार थियो,’ उनलाई बार पनि कण्ठ छ ।
आफ्नो स्वर रेडियो नेपालसम्म पु¥याउन उनले धेरै मेहनत गर्नुप¥यो । भोजपुरदेखि इटहरी, इटहरीदेखि काठमाडौँसम्म आइपुग्न उनले संघर्षका अनेकन् घुम्ती पार गरिन् ।
आभाले रेडियो नेपालमा सान्त्वना पुरस्कार पाएकी थिइन् । त्यो पुरस्कार उनको सांगीतिक जीवनको पहिलो खुड्किलो बन्यो । त्यही खुड्किलो चढ्दै आज उनी एउटा मुकाममा पुगेकी छिन् ।
गायक भीषण मुकारुङ, गायिका इच्छाकला चाम्लिङसँग मिलेर उनले २०६० सालमा संयुक्त लोकगीति एल्बम ‘भाकल’ निकालिन् । त्यसपछि २०६२ सालमा उनी एक्लैको ‘आभा’ एल्बम प्रकाशित गरिन् । यस एल्बमका गीतहरू निकै रुचाइए । उनले २०६८ सालमा ‘सौम्य’ र भर्खरै ‘बहाव’ स्रोतामाझ ल्याएकी छिन् ।
आभाका ‘कता हिँडेको’, ‘कालीपारे दाइ’, ‘साउने झरीले’, ‘पानीझैँ सङ्लो’ लगायत गीत चर्चित छन् । उनले पूर्वेली लोकगीतहरू संगिनी, हाक्पारे, पालाम, त्यस्तै पश्चिम नेपालका डेउडा, कौडा, टप्पा, सालैजो र थारु गीत पनि गाएकी छिन् ।
पितृसत्तात्मक सोच भएको रुढीग्रस्त समाजसँग निकै संघर्ष गर्नुपरेको उनी सुनाउँछिन् । ‘संघर्षबिना जीवन सुन्दर हँुदैन,’ आभाको ठम्याइ छ । पुरुषप्रधान समाज भएका कारण पुरुष संगीतकर्मीलाई संगीतमा लागिरहन सहज हुने र महिलालाई गाह्रो हुने उनको अनुभव छ । बेला–बेलामा महिला भएकै कारण कैयौँ अप्ठ्यारा उनले झेल्नुप¥यो । ‘तर, जीवन कहाँ गमलाको फूल हो र ?’ उनी भन्छिन्, ‘आइपर्ने हरेक अवरोध पार गर्दै हिँड्नुको नाम नै जीवन हो । गायिका मेलवादेवी जस्ता संगीतकर्मीले खनेको गोरेटोमा हिँड्ने कोसिस गरिरहेकी छु ।’
भोजपुरको पहाडी गाउँमा जन्मिएकी आभालाई संगीतले नै घुमाएको छ, कैयौँ देश । बेलायत, हङकङ, कोरिया, यूएई, कतार, बहराइनलगायत देश पुगिसकिन् उनी । संसारको जुनसुकै ठाउँमा पुगे पनि हरेक जमघटमा नेपाली गीत बज्नेबित्तिकै नेपालीको अनुहारमा देखिने खुशीले आफूलाई पनि खुशी बनाउने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘जब म गीत गुनगुनाउन थाल्छु, विदेशमा बस्ने नेपालीहरूको अनुहार चम्किन थाल्छ । त्यो क्षण मलाई एकदमै मन पर्छ ।’
आभाको विचारमा जीवन नै संगीत हो, संगीत नै जीवन हो । संगीतको तालमा जीवनका लयहरू गाइरहने उनी बताउँछिन् । ‘स्रोताको माया पाएकी छु,’ उनी भन्छिन्, ‘संगीतलाई निरन्तरता दिने कोसिस गर्नेछु ।’