कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

राम्रो अनलाइन     २७ साउन २०८२, मङ्गलबार
कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका पूर्वसभापति रवीन्द्रराज श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी हिजो निधन भएका श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताए। उनले स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताए ।

सभापति देउवाले स्व श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् । विसं २००५ पुस ८ गते जन्मनुभएका स्व श्रेष्ठ प्रतिबन्धित कालमा नेपाली कांग्रेस दैलेखका सचिव र २०४८ देखि २०५१ सम्म जिल्ला सभापति भएका थिए । स्व श्रेष्ठले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

स्व श्रेष्ठ त्रिभुवन माध्यमिक विद्यालय दैलेखको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, नेपाल परिवार नियोजन सङ्घ दैलेखको सभापति र नेपाल सरकारको वन पैदावार विकास समितिको महाप्रबन्धक जस्ता विभिन्न पदमा रहेर सामाजिक कार्यमा समेत संलग्न थिए । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया