सानैदेखि दयालु स्वाभावकी जगदिश्वरी शाह युवा र सामाजिक विकासकी अधिवक्ता हुन् । जो बोल्न नसक्नेहरुको लागी आवाज र कसैले नदेखेका र नबोलिएका विषयको आवाज उठाउँदै आइरहेकी छिन् । उनी पृष्ठभूमिले गन्तव्यलाई निर्धारण गर्न सक्दैन, इच्छा र विश्वास भएमा जस्तो सुकै काम पनि गर्न सकिने कुरामा विश्वा स गर्छिन् र त्यही कुरालाई प्रमाणित गर्न उनले मिस नेपालको यात्रालाई चुनेकी हुन् । उनी भन्छिन्, ‘मलाई लाग्दैन, पृष्ठभूमिले गन्तव्यलाई निर्धारण गर्छ, किनकी अछामबाट आएको मैले सरकारी विद्यालयमा धेरै चुनौतिहरूको सामना गरेँ, तर मेलै ब्याचलर्समा उत्कृष्ट गरेँ । धेरै पहिलादेखि नै मिस नेपाल हेरिरहेको भएर म पनि त्यो मञ्चमा उभिएको कल्पना गर्थें र आज यो मन्चमा आफ्ना सपनाहरुलाई साकार गर्न सहभागी भएकी छ । मलाई मेरो ‘ब्युटी विथ अ पर्पस’ काममार्फत म मेरो जस्तै समुदायहरूलाई प्रेरित गर्ने र विकाशका अवसरहरू सिर्जना गर्न चाहन्छु ।’

मिस नेपाल करिब एक दशकदेखि यो मेरो आशा, प्रेरणा र आत्मबलको स्रोत बनिरहेको छ। आत्मसन्देहले गाँजेको क्षणहरूमा, म मिस नेपालका भिडियोहरू हेर्थें, जहाँ सहभागीहरूको आत्मविश्वास, गरिमा र प्रस्तुतिले मलाई फेरि उठ्ने प्रेरणा दिन्थ्यो। ती भिडियोहरूले मलाई सम्झाउँथे कि आफ्नो परिस्थिति माथि उठ्न सकिन्छ, र निडरताका साथ सिमाविहीन सपना देख्न सकिन्छ।
हरेक पटक हेर्दा, म आफूलाई त्यो स्टेजमा देख्थें, केवल आफ्नो प्रतिनिधित्व गर्दै होइन, म जस्तै धेरै युवतीहरूको आशा बोकेर उभिएकी।

अछामबाट आएकी म सरकारी विद्यालयको विद्यार्थी थिएँ, जहाँ सीमित स्रोत र अवसरहरूबीच अध्ययन गरें। ती कठिनाइहरूका बाबजुद, मैले हार मानिनँ। दृढ संकल्प र निरन्तर प्रयासका साथ, म स्नातक तहमा ९० जना भन्दा बढी विद्यार्थीहरूमध्ये प्रथम हुन सफल भएँ। यस यात्राले मलाई सिकायो, कुनै सपना सानो हुँदैन, र हाम्रो पृष्ठभूमिले हाम्रो भविष्य परिभाषित गर्दैन।
पूर्व मिस नेपालहरूबाट मैले देखेको साहस, आत्मविश्वास र प्रामाणिकता केवल प्रेरणादायी मात्र थिएनन्तिन्, तिनले मलाई अगाडि बढ्न र केही गर्न बोलाएको जस्तै लाग्यो। आज, मेरो ब्यूटी वीथ पर्पस परियोजनामार्फत, म आफ्नो जस्ता समुदायहरू अपलिफ्ट गर्ने, र अवसर सिर्जना गर्ने काममा लागेकी छु।
म आफैं पनि त्यही आशाको प्रतीक बन्न चाहन्छु, जसलाई देखेर पछाडि पारिएका क्षेत्रका युवतीहरूले भन्न सकून्, “यदि उहाँले सक्नुभयो भने, म पनि सक्छु।”