ढोरपाटनमा रमाउँदै बलिउड अभिनेत्री चुम (तस्बिरसहित)

राम्रो अनलाइन     १८ जेठ २०८२, आइतबार
ढोरपाटनमा रमाउँदै बलिउड अभिनेत्री चुम (तस्बिरसहित)

काठमाडौं–अहिले पश्चिम बागलुङको ढोरपाटनमा बिग बजेटको फिल्म ‘ऐरी’को छायांकन धमाधम भैरहेको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन र त्यहाँको उपत्यकामा प्रदीप खड्का, बलिउड अभिनेत्री चुम दरङले छायांकन गरिरहेका छन् ।

भुटानी अभिनेता सांगे सेल्ट्रिम, अभिनेता धीरज मगरले आउने सातादेखि सेट ज्वाइन गर्ने खबर छ । सलमान खानले होस्ट गर्ने भारतीय रियालिटी शो ‘बिग बोस’को पछिल्लो सिजनबाट चर्चामा आएकी अभिनेत्री दरङ यो फिल्ममा ‘लिड फिमेल’मा छिन् ।

अभिनयको प्रशंसा गर्दै को(स्टार प्रदीपले दरङले निकै मिहेनत गरेको बताए । नेपाली भाषामा संवाद गर्न कठिन भएपछि अहिले दरङले हिन्दी भाषामै छायांकन गरिरहेकी छन् । डबिङको बेला उनको आवाजलाई नेपालीमा रुपान्तरण गरिने भएको छ ।

ढोरपाटन आफैमा प्रसिद्ध पर्यटकीय थलो हो । शिकार आरक्ष मात्र होइन, यहाँको हिमाली रहनसहन र थलोले पर्यटकलाई लोभ्याउँछ । त्यहाँको हरिया फाँट र चरन धेरैका लागि लोभलाग्दो दृश्य अवश्य हो । ढोरपाटन उपत्यकाको यो सौन्दर्यलाई समेट्दै दरङले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।

जहाँ उनलाई सेतो स्कर्ट र पिंक क्यापमा आकर्षक देख्न सकिन्छ । उनका यी तस्वीर हेरेपछि जो कोहीलाई ढोरपाटन घुम्न जान मन लाग्न सक्छ । अभिनेता प्रदीपका अनुसार अझै ४० दिनसम्म ‘ऐरी’को छायांकन ढोरपाटनमा हुनेछ ।

बलिउड स्टार दरङले ‘ऐरी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया