काठमाडौँ–बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे।
समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताइन् । संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले भनिन्, “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सङ्कटमा पार्दै गएको छ ।”
सो विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन् । यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको उल्लेख गर्दै मन्त्री डा राणाले भनिन्, ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ । यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदानमार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ ।
उनले संवादले प्रतिविम्ब र आत्मनिरीक्षणका लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरुको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन्।
जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन्।
उनले नेपालले भने यसको सङ्कट सबैभन्दा बढीमात्रामा झेल्नुपरिरहेका दृष्टान्त पेस गरिन्। “हाम्रा नदी, वन र पहाडहरूको संरक्षकका रूपमा हामी कार्यरत छौँ, तर पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौँ”, मन्त्री डा राणाले भनिन्, “यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्छ, नत्र ढिलो हुनेछ । यसैले आजदेखि आगामी तीन दिनमा हामीले आफैँलाई जलवायु सङ्कटको अस्तित्वगत खतरालाई कसरी सम्बोधन गर्ने, यस पृथ्वी र ब्राह्मणको स्वास्थ्य अवस्थाको पुनःस्थापित गर्ने र यसमा बस्ने मानिसहरूको कल्याण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सोध्नेछौँ ।”
मन्त्री डा राणाले नेपालले हालैका वर्षमा विनाशकारी तथा शृङ्खलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको उल्लेख गर्दै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति बनाएको बताइन्।
विश्वले नेपालजस्ता देशहरूको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने भन्दै उनले भनिन्, “मलाई आशा छ कि यो मञ्च जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तरराष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्यसुरक्षा, मानवीय सङ्कट र विपद् जोखिमजस्ता समस्याको समाधानमा एक अवसर हुनेछ ।”