चलचित्र ‘जार’ को ट्रेलर सार्वजनिक

राम्रो अनलाइन     २८ चैत २०८१, बिहिबार

काठमाडौँ–साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । 

उक्त श्रव्यदृश्यमा प्रमुख पात्र सौगात मल्ल, अनुपविक्रम शाही र गिताञ्जली थापालाई चित्रण गरिएको छ । कार्यक्रममा निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिए।

उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा थपेको छ ।”

आगामी वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रलाई निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिए । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका छन्।

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता मल्लले बताए। उनले भने, “मलाई यो पढेदेखि मन परेको कथा हो । यसमा रहेका विभिन्न पात्रमा आफूलाई कल्पना गर्थे । यसमा जोडिएर काम गर्न पाएँ, आफ्नो पात्रलाई जीवन्त बनाएको छु ।” उनले यस किसिमको चलचित्र समाजको एउटा समयलाई डिजिटल रूपमा सङ्ग्रहित गरेको बताए। 

अभिनेता शाहीले यो चलचित्रमा काम गर्नुअगाडि कथाकार राईको कथा पढेर पात्रलाई तयार गरेको बताए। “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ”, उनले भने।   

यस चलचित्रलाई प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने उक्त कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ  । 

प्रतिक्रिया