काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज शीतल निवासमा भेटघाट गरेको छ । सो समूहका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोलीले फोटो पत्रकारहरूको योगदान, तस्बिर तथा समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विविध विषयमा राष्ट्रपति पौडेललाई अवगत गराएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले सीमित स्रोतसाधन र जोखिमकाबीच कार्यक्षेत्रमा खटिनुहुने फोटोपत्रकारमाथि हुने जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थाको प्रत्याभूतिका लागि राज्य तथा सम्बन्धित सञ्चारगृह जिम्मेवारी बोधका साथ सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “तपाईंहरूले खिचेका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई थप विश्वसनीय एवं तथ्यगत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस्तो चुनौतीपूर्ण एवं संवेदनशील क्षेत्रमा खटिनुहुने फोटो पत्रकारहरूको योगदानलाई सम्मानका साथ राज्यले उच्च मूल्याङ्कन गर्नेछ ।”
एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चितताका लागि जीवन बिमालगायत सुविधाहरू उपलब्ध गराइदिने व्यवस्थाका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष अनुरोध गरे। उनले भने, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका साथीहरूले जोखिम मोलेर जिम्मेवारी निर्वाह गरिरहनुभएको छ, यस किसिमको विषम परिस्थितिमा फोटोपत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र जीवन बिमालगायत सुविधाका लागि आवश्यक पहल गरिदिनुहुन विशेष अनुरोध गर्दछु ।”
राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र सो प्रयोजनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको एनएफपिजेका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए।
सोही अवसरमा एनएफपिजे नेपालको २८औँ वार्षिकोत्सवका अवसरमा आगामी वैशाख १३ गते हुने राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार–२०२५ विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन राष्ट्रपतिसमक्ष निमन्त्रणापत्र हस्तान्तरण गरेको अध्यक्ष वन्तले जानकारी दिए।
त्यसअवसरमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।